लामिछानेले पार्टीलाई वैकल्पिक शक्तिबाट मुलुकको नेतृत्व गर्न सक्षम राजनीतिक शक्तिका रूपमा विकास गर्ने लक्ष्य दोहोर्याउँदै संगठन विस्तारसँगै आउने संकीर्ण सोच त्याग्नुपर्ने धारणा राखेका छन्।
What you should know
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन प्रक्रियाअन्तर्गत जारी जिल्ला अधिवेशनका क्रममा पार्टीका नेता–कार्यकर्तालाई लोकतान्त्रिक अभ्यास, समावेशी नेतृत्व र संगठनात्मक संस्कारलाई सुदृढ बनाउन आग्रह गरेका छन्।
शनिबार फेसबुकमा पोस्ट लेख्दै उनले वडा र पालिका तहका अधिवेशन सफलतापूर्वक सम्पन्न भएको र अब जिल्ला अधिवेशनहरू पार्टीको भविष्यको दिशा तय गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन्।
उनले लेखेका छन्, 'अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, पार्टीको अनन्तकालीन जीवन, विधि-पद्धति, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर हो। यसले हाम्रो आगामी यात्रालाई स्पष्ट दिशानिर्देश गर्नेछ।'
लामिछानेले पार्टीको हितका लागि सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै संवाद, सहमति र आन्तरिक निर्वाचनमार्फत नेतृत्व चयन गरिनु नै रास्वपाको लोकतान्त्रिक संस्कार भएको उल्लेख गरेका छन्।
'हामीले रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्य लिएका छौं। त्यसका लागि विचार मात्र होइन, हाम्रो शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्छ,' उनले लेखेका छन्।
उनले पार्टीभित्र पदोन्नतिको अपेक्षा राख्ने, योगदानको हिसाब–किताब खोज्ने तथा भविष्यमा संसदीय अवसर प्राप्त गर्ने उद्देश्यले नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन्। 'चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ,' उनले भनेका छन्।
लामिछानेले पार्टीलाई वैकल्पिक शक्तिबाट मुलुकको नेतृत्व गर्न सक्षम राजनीतिक शक्तिका रूपमा विकास गर्ने लक्ष्य दोहोर्याउँदै संगठन विस्तारसँगै आउने संकीर्ण सोच त्याग्नुपर्ने धारणा राखेका छन्।
'अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो,' उनको भनाइ छ, 'अब ‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आएको छ।'
