अध्यक्ष घिसिङले अबको आवश्यकता आर्थिक र वातावरणीय क्रान्ति भएको बताएका छन् ।
काठमाडौँ —
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको ‘नीलो क्रान्ति’ को लहर धेरै समय नटिक्ने दाबी गरेका छन् ।
देशको दिगो विकास र राजनीतिक स्थायित्वका लागि ‘हरित क्रान्ति’ (ग्रीन रिभोल्युसन) मात्रै अन्तिम र भरपर्दो विकल्प भएको घिसिङले बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मुलुकमा भएका विगतका राजनीतिक परिवर्तनहरूलाई विभिन्न रङको क्रान्तिका रूपमा चित्रण गर्दै अध्यक्ष घिसिङले अबको आवश्यकता आर्थिक र वातावरणीय क्रान्ति भएको बताएका हुन् ।
‘उज्यालो नेपाल पार्टीको एउटा प्रमुख उद्देश्य नेपालमा हरित क्रान्ति गर्नु हो । हामी नेपालमा ‘ग्रीन रिभोल्युसन’ ल्याउने अभियानमा छौँ । विगतमा विभिन्न क्रान्तिका नाममा अनेकौँ राजनीतिक परिवर्तन भए । कसैले त्यसलाई श्वेत क्रान्ति भने, कसैले रातो क्रान्ति । यदि १० वर्षे जनयुद्धपछिको परिवर्तनलाई रातो क्रान्ति भनेर नामाकरण गर्ने हो भने, केही समयअघि स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो अभियानलाई निलो क्रान्ति (ब्लु रिभोल्युसन) भनेर प्रस्तुत गर्यो । तर नीलो क्रान्ति धेरै समय टिक्दैन,' घिसिङले भने ।
