रास्वपाले शनिबार ३६ जिल्ला र आइतबार २५ जिल्लाको अधिवेशनका लागि पार्टीका तल्लो समितिहरूलाई स्वीकृति दिएको छ । यी अधिवेशनबाट रास्वपाको जिल्ला तहको नेतृत्व चयन हुनेछ ।
What you should know
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को जिल्ला अधिवेशन शनिबार र आइतबार हुने भएको छ । रास्वपाले जिल्ला अधिवेशनका लागि दुई दिन तय गरेको छ । रास्वपाले शनिबार ३६ जिल्ला र आइतबार २५ जिल्लाको अधिवेशनका लागि पार्टीका तल्लो समितिहरूलाई स्वीकृति दिएको छ ।
रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले जिल्ला अधिवेशनका लागि शनिबारका लागि ३६ जिल्ला र आइतबारका लागि २५ जिल्लालाई स्वीकृति दिएको छ । यसअघि जिल्ला अधिवेशनका लागि दुई दिन तोकिए पनि कुन दिन कुन जिल्लाको अधिवेशन हुने भन्ने तय भएको थिएन । यी अधिवेशनबाट रास्वपाका जिल्ला नेतृत्व चयन हुनेछ ।
रास्वपा निर्वाचन आयोगका उपप्रमुख राम गुरुङका अनुसार १६ जिल्लामा अर्को चरणमा अधिवेशन गर्ने योजना रहेको छ । कतिपय जिल्लामा वडा र स्थानीय तहको अधिवेशन सम्पन्न नहुँदा निर्धारित समयमा हुन नसकेको उनले जानकारी दिए । 'हिमाली लगायतका जिल्लामा विधानले तोकेबमोजिम जिल्ला अधवेशनको मापदण्ड नपुगेकोले पछि गर्ने योजना छ,' उनले भने । ती जिल्लाहरूबाट पार्टी महाधिवेशनमा प्रतिनिधित्व भने सुनिश्चित हुने गुरुङले जानकारी दिए ।
जेठ २३ गते शनिबारको दिन झापा, तेह्रथुम, मोरङ, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुंगा, सुनसरी, रौतहट, महोत्तरी, दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दीको अधिवेशन हुँदैछ । त्यही दिन गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलाको जिल्ला अधिवेशन सम्पन्न हुनेछ ।
जेठ २४ गते आइतबारका लागि जिल्ला अधिवेशन गर्न २५ जिल्लालाई स्वीकृति प्रदान गरिएको छ । यो दिन उदयपुर, सोलुखुम्बु, खोटाङ, सिराहा, चितवन, ललितपुर, तनहुँ, नवलपुर, गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, रुपन्देही, प्यूठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु, जुम्ला, अछाम, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र बाजुराको जिल्ला अधिवेशन भएर नयाँ नेतृत्व चयन हुनेछ ।
रास्वपाले जिल्ला अधिवेशन सकेपछि प्रदेश अधिवेशन गर्नेछ । रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ ।
