सीमाका विषयमा कुरा उठाउनुहुन्छ कि हुँदैन ? भन्ने प्रश्नमा परराष्ट्रमन्त्री खनालले भने : स्पेसिफिक भएर बोलिनँ । नयाँ सरकार आएको छ । अहिले उठेका सबै विषयमा संवाद गर्छौं ।
What you should know
काठमाडौँ —
परराष्ट्रमन्त्री शिशिर खनालले भारतसँग अहिले उठेका सबै विषयमा संवाद हुने बताएका छन् । शुक्रबार भारतको तीनदिने औपचारिक भ्रमणमा निस्किएका परराष्ट्रमन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्राथमिकतामा रहेका सबै विषयमा कुराकानी हुने बताएका हुन् ।
'लामो समयपछि उच्चस्तरीय औपचारिक द्विपक्षीय भ्रमण हुँदैछ । मुलुकमा नयाँ सरकार बनिसकेपछि हाम्रा प्राथमिकताका विषयमा हामी संवाद गर्छौँ,' उनले भने । 'सीमाका विषयमा हजुरले कुरा उठाउनुहुन्छ कि हुँदैन ?' भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, 'स्पेसिफिक भएर बोलिनँ । पक्कै पनि हाम्रा प्राथमिकताका सबै विषयमा हामी संवाद गर्छौं । नयाँ सरकार आएको छ । अहिले उठेका सबै विषयमा संवाद गर्छौं ।'
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भारतमा भ्रमणमा गएका हुन् । भेटवार्तामा आपसी हित, व्यापार, लगानी,'कनेक्टिभिटी', ऊर्जा र 'पिपल टु पिपल' सम्बन्धका विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनाल आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
परराष्ट्रमन्त्रीका रूपमा खनालको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ । यसअघि उनी मौरिससमा आयोजित नवौं हिन्द महासागर सम्मेलनमा सहभागी भएका थिए । त्यस क्रममा उनले भारतीय समकक्षी जयशंकर र अन्य केही नेतासँग भेटवार्ता गरेका थिए । मौरिससमा खनाल र जयशंकरबीच बदलिएको परिवेशमा नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो । नेपालको नयाँ सरकारका प्राथमिकताहरूबारे काठमाडौंमा विस्तृत रूपमा छलफल गर्न सहमतिसमेत भएको थियो ।
जयशंकरले नयाँ सरकारसँग संवाद गर्न र प्राथमिकता बुझ्न विदेश सचिव विक्रम मिस्रीलाई काठमाडौं पठाउने प्रस्ताव गरेका थिए । तर प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रोटोकल’ कारण देखाउँदै भेट्न अस्वीकार गरेपछि मिस्रीको भ्रमण स्थगित भएको थियो ।
यसैबीच गत सोमबार नयाँदिल्ली पुगेका सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने उच्चस्तरीय भेटघाट सकेर शुक्रबार नै स्वदेश फर्कंदैछन् । सभापति लामिछानेले भाजपा अध्यक्ष नितिन नवीन, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरे ।
