सम्पत्ति विवरण बुझाएर छानबिन आयोगलाई सहयोग गर्छौंः गगन थापा

पार्टी कार्यालय सानेपामा बिहीबार आयोजित कार्यक्रममा सभापति थापाले आफू र पार्टीका अन्य नेताहरूले समेत सम्पत्ति विवरण बुझाएर सरकारलाई सहयोग गर्ने बताएका हुन् ।

जेष्ठ २१, २०८३

न्युज एजेन्सी नेपाल

We will cooperate with the investigation commission by submitting asset details: Gagan Thapa

What you should know

काठमाडौं — कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरण बुझाएर सहयोग गर्ने बताएका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति थापाले आफू र पार्टीका अन्य नेताहरूले समेत सम्पत्ति विवरण बुझाएर सरकारलाई सहयोग गर्ने बताएका हुन् । 

यद्यपि, आयोग गठन प्रक्रिया र कार्यादेशको स्वच्छतामाथि भविष्यमा प्रश्न उठ्न सक्ने भन्दै उनले सरकारलाई सचेत समेत गराए  । उनले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्राथमिकतामा राखेको भन्दै संविधान र कानुनअनुसार सरकारले गर्ने सबै प्रयासमा कांग्रेसको शतप्रतिशत सहयोग रहने बताएका छन् । उनले सार्वजनिक पद धारण गरेका नेता र पदाधिकारीहरुको सम्पत्तिसम्बन्धी विषय छिटो टुंगियोस् भन्ने कांग्रेसको चाहाना रहेको पनि बताए । उनले केही न्यायाधीश र नेताहरूले सम्पत्ति विवरण नबुझाउने भन्दै दिएको अभिव्यक्तिप्रति कांग्रेसको कुनै टिप्पणी नरहेको पनि स्पष्ट पारे । 

उनले भने, ‘गत भदौको नवयुवाहरूको आन्दोलनको मुख्य विषय कुशासनको अन्त्य र सुशासनको प्रारम्भ भन्ने नै थियो । अबको केही वर्षसम्म नेपालको मुख्य विषयवस्तु पनि यही नै हो । भर्खरै निर्वाचन सम्पन्न भएको छ । यसबाट नयाँ सरकार आएको छ । सरकारले समेत भ्रष्टाचार नियन्त्रण र सुशासन कायमलाई सबैभन्दा महत्वपूर्ण विषय बनाएको छ । मुलुकमा सुशासन स्थापना गर्ने कुरामा सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासमा हाम्रो शतप्रतिशत सहयोग रहन्छ ।’

वालेन्द्र शाह नेतृत्वको सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा ५ सदस्यीय आयोग गठन गरेको थियो ।

न्युज

Link copied successfully