एमाले पार्टी संगठन केन्द्रदेखि वडासम्म पुनर्गठन गर्ने संकल्प
काठमाडौँ — प्रतिनिधिसभाको निर्वाचनमा मत परिवर्तन गरेका मतदाताहरुलाई पुनः पार्टीमा सक्रिय हुन एमालेले आह्वान गरेको छ ।
काठमाडौंमा बिहीबार सकिएको दुई दिने कार्यशालाले संकल्प प्रस्ताव पारित गर्दै फागुनको प्रतिनिधिसभा निर्वाचनमा मत फेरेका मतदातालाई पुनः जोडिन आग्रह गरेको छ ।
‘गत प्रतिनिधिसभाको निर्वाचनमा मत परिवर्तन गरेका मतदाताहरुलाई पुनः पार्टीमा सक्रिय हुन आह्वान गर्दछ,’ पारित प्रस्तावमा सदस्यता नवीकरणलाई तीव्रता दिने भनिएको छ, ‘यो कार्यशाला पार्टीको संगठित सदस्यता अनलाइन नवीकरणको कार्यलाई सम्बन्धित व्यक्तिको प्रत्यक्ष उपस्थितिमा अविलम्ब अगाडि बढाउने घोषणा गर्दछ ।’
कार्याशालामा ७७ जिल्लाका अध्यक्ष, सचिव, प्रदेश अध्यक्ष, सचिव, संगठन विभागका प्रमुखलगायत उपस्थित थिए । ११ समूहमा विभाजन गरी संगठनलाई गति दिनेबारे छलफल भएको थियो ।
टोली नेताहरुले पार्टीको नीति समयअनुसार परिवर्तन, नेताहरुको कार्यशैलीमा सुधार र जनतासँग टुटेको सम्बन्ध जोड्नुपर्नेमा जोड दिएका थिए । कार्यशालाले पार्टीको एक संगठित सदस्यले न्यूनतम ३ नयाँ पार्टी सदस्य तयार गर्ने संकल्प गरेको छ । त्यस्तै विज्ञान तथा प्रविधिको क्रान्ति र सामाजिक सञ्जालको प्रयोगमा आफ्नो सक्रिय उपस्थिति जनाउँदै पार्टी जीवनलाई डिजिटल क्रान्तिमा रुपान्तरित गर्ने, सदस्यता नवीकरणको कामलाई अविलम्ब सम्पन्न गरी टोलदेखि वडा, पालिका, जिल्ला, प्रदेश हुँदै सिंगो पार्टीलाई पुनर्जागृत गर्ने संकल्प पनि गरेको छ ।
पार्टीको सांगठनिक संरचनालाई पुनर्गठन गर्ने प्रतिबद्धता पनि भेलाले गरेको छ । ‘पार्टी आबद्ध जनसंगठनहरुलाई आफ्नो समुदायका मुद्दाहरुको नेता संगठन बनाउने र सांगठानिक रुपमा केन्द्रदेखि आधारसम्म पुनर्गठन गर्न आवश्यक समन्वय गर्ने प्रतिबद्धता जाहेर गर्दछ,’ पारित प्रस्तावमा भनिएको छ, ‘नयाँ पुस्तासँग अन्तर सम्वाद कार्यक्रमको आयोजना गरी पार्टी आबद्ध परिवारका छोराछोरीहरुको सम्मेलन सबै कमिटीले आयोजना गर्ने घोषणा गर्दछ ।’
कार्यशालाले केन्द्रीय सम्पर्क समन्वय कमिटी र यस मातहतको संरचनालाई उच्च महत्त्वका साथ परिचालन गरी भूगोल र उपत्यकाको पार्टी कामलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने संकल्प गरेको छ ।
हरेक कमिटीले अनलाइन र सामाजिक सञ्जालका विभिन्न माध्यम प्रयोग गरी प्रवास कमिटीले सम्पर्कमा राख्ने र स्थानीय कमिटीहरुले पनि प्रवासमा रहेका युवाहरुको समूह निर्माण गरी निरन्तर सम्पर्कमा राख्ने निर्णय गरेको छ ।
कार्यशालामा टोली नेताहरु सुदूरपश्चिमबाट कृष्ण जैसी, राजधानीबाट नारायण सिलवाल, गण्डकीबाट नवराज शर्मा, लुम्बिनीबाट राधाकृष्ण कँडेल, कर्णालीबाट गुलाबजङ शाह, मधेश प्रदेशबाट चन्द्रेश्वर मण्डल, कोशी प्रदेशबाट धनश्याम खतिवडा, बागमती प्रदेश समूहबाट दावा दोर्जी लामा, सम्पर्क समन्वयबाट अशोक ठकुरी र जनसंगठन समूहबाट महाराज गुरुङले रिपोर्टिङ गरेका थिए । उनीहरुले दिएका सुझावका आधारमा संकल्प प्रस्ताव पारित गरेको छ ।
बुधबार ओलीले कार्यशालाको उद्घाटन गर्दै पार्टी नेतृत्व परिवर्तन नहुने र त्यसको माग गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।
