२१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा अन्तिम निर्णय नहुन्जेलसम्मका लागि पदबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
काठमाडौं — कांग्रेसको केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा अन्तिम निर्णय नहुन्जेलसम्मका लागि पदबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
साथै सर्लाहीका ३ प्रदेश सभा सदस्यलाई स्पष्टिकरणका आधारमा सचेत गराउने निर्णय समेत गरेको छ ।
समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बिहीबार पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बसेको बैठकले उक्त निर्णय गरेको हो । समितिले यादवले पटक पटक स्पष्टिकरण माग्दा समेत जवाफ नदिएको र अनुसन्धान प्रभावित हुने अवस्था देखिएको भन्दै उनलाई बारा जिल्ला सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको जनाएको छ ।
बैठकले यादवविरुद्ध अनुशासन उल्लंघनको थप अनुसन्धान गरी अन्तिम निर्णयमा पुग्नुपर्ने निष्कर्ष पनि निकालेको छ ।
यसैबीच, सर्लाही-२ अन्तर्गतका ३ प्रदेश सभा सदस्यहरू सकुन्तीदेवी महरा, कौशल किशोर राय र जंगीलाल रायलाई पार्टी उम्मेदवारविरुद्ध असहयोग गरेको आरोपमा स्पष्टिकरणपछि गुनासो नआउने गरी सचेत रहन निर्देशन दिइएको छ ।
ती तीनै जनाले आफूहरूमाथि लागेको आरोप अस्वीकार गर्दै लिखित स्पष्टिकरण पेस गरेका थिए । अनुशासन समितिले उनीहरूको जवाफलाई आधार मान्दै तत्काल कुनै कारबाही नगरी पार्टीको विधान र नियमावलीप्रति पूर्ण प्रतिबद्ध रहन निर्देशन दिएको हो ।
यसैगरी, बारा जिल्लाका उपसभापति अमिरीलाल राउत (पाल)विरुद्धको उजुरीमा भने समितिले सफाइ दिएको छ । प्रारम्भिक स्पष्टिकरण र थप छानबिनपछि राउतको जवाफ सन्तोषजनक देखिएको निष्कर्ष निकाल्दै उनीमाथि थप कारबाही आवश्यक नदेखिएको समितिले जनाएको छ ।
