भेटबारे भारतीय प्रधानमन्त्री मोदीले एक्समार्फत नै जानकारी दिएका छन् ।
काठमाडौँ — भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । सभापति लामिछानेले बुधबार दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गरेका हुन् । भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको थियो । भेटबारे भारतीय प्रधानमन्त्री मोदीले एक्समार्फत नै जानकारी दिएका छन् ।
भेटबारे जानकारी दिँदै मोदीले भनेका छन्,'नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुसी लागेको छ । साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्छु र पूर्ण रूपमा समर्थन गर्दछु ।'
‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिला) नीतिअन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार भएको पनि मोदीको भनाइ छ । दुवै देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च तहमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको पनि मोदीको भनाइ छ ।
भेटमा भारतीय पक्षबाट मोदीसँगै विदेशमन्त्री एस जयशंकर, भारतका राष्ट्रिय सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्रीलगायतका उच्च पदस्थ अधिकारी थिए ।
मोदीसँगको भेटवार्तामा नेपाली टोलीमा सभापति लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी थिए । वार्ताका क्रममा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा पनि सहभागी थिए ।
भाजपा अध्यक्ष नितिन नवीनको निम्तोमा सोमबार नयाँदिल्ली पुगेका लामिछाने मंगलबारदेखि नै उच्चस्तरीय भेटघाटमा व्यस्त थिए । मंगलबार उनले भाजपा मुख्यालयमा अध्यक्ष नवीनसहित शीर्ष नेताहरूलाई भेटेका थिए । त्यसपछि उनले भारतीय विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरे । बिहीबार लामिछाने उत्तर प्रदेशस्थित राम जन्मभूमि अयोध्या जाँदैछन् ।
Delighted to meet the Chairman of the Rastriya Swatantra Party of Nepal Mr. Rabi Lamichhane. I welcome and fully share his desire to work closely together for a shared and prosperous future.
— Narendra Modi (@narendramodi) June 3, 2026
Nepal is a priority partner under our Neighbourhood First policy and we look forward to… pic.twitter.com/ZMjpGthKTX
