प्रधानमन्त्रीले देशद्रोही कुरा गर्नुभयो :  ओली

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नेपाल-भारत सीमा समस्या समाधान गर्न तेस्रो पक्षलाई सामेल गराउन गैरकुटनीतिक भएको बताए ।

जेष्ठ २०, २०८३

कान्तिपुर संवाददाता

Prime Minister made treasonous remarks: Oli

What you should know

काठमाडौं — एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‌मा दिएको अभिव्यक्तिलाई देशद्रोहीको आरोप लगाएका छन् । ‘भारतले मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ' भन्ने प्रधानमन्त्री शाहको भनाइ देशद्रोह भएको ओलीले आरोप लगाएका हुन् ।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले नेपाल-भारत सीमा समस्या समाधान गर्न तेस्रो पक्षलाई सामेल गराउने विषय गैरकुटनीतिक भएको समेत बताए ।  उनले भने, 'प्रधानमन्त्री अचानक संसद्‌मा झुल्किए । हात उठाएर तमासा देखाए । संसद्‌मा माननीयहरूले प्रश्न सोध्नुभयो । प्रधानमन्त्रीले देशद्रोही कुरा गर्नु भयो, नेपालले धेरै ठाउँमा सीमा मिचेको छ भन्नुभयो । नेपालले १ इन्च पनि भारतको सीमा मिचेको छैन । राष्ट्रहितविरुद्ध बोल्ने काम भयो । नेपालको अहितमा देशद्रोही कुरा गरेर कसका लागि बोलियो ? अचानक के सन्देश दिन खोजेको ? कसले के दिन खोजेको छ ? ।’

उनले नेता तथा कार्यकर्तामाझ नेपालीलाई योभन्दा हेप्ने ठाउँ अरू नहुने बताए । उनले भने, 'यस्तो देशद्रोही कुराको पनि समर्थन गर्दै हिडेका छन् केही मान्छेहरू ।’

उनले दुई देशको समस्यामा प्रधानमन्त्रीले तेस्रो पक्ष (बेलायत) सामेल गरी गैरकुटनीतिक  व्यवहार देखाएको पनि बताए । 'दुई देशको समस्या समाधानमा अर्को देशलाई सामेल गर्ने भन्ने गैरकुटनीतिक कुरा पनि बोलिन्छ । हाम्रा छिमेकीका कुनै छलफल वादविवाद पर्‍यो भने आपसमा बसेर समाधान गर्छौ । तेस्रो पक्षलाई समाधान गर्दैनौं,’ उनले भने, ‘नेपाल तपाईं (प्रधानमत्री)को घरको सम्पत्ति होइन । गाई कि त्रिशुल भनेर प्रधानमन्त्री भयो भन्दैमा देशबारे जथाभावी गर्न दिइने छैन ।’ उनले संसद्‌मा विपक्षीहरूको विरोधलाई समर्थन गर्दै विरोधमा उत्रने सांसदलाई कारबाही गरेर देखाउन सभामुख डीपी आर्याललाई चेतावनी दिए ।

कान्तिपुर

Link copied successfully