प्रधानमन्त्री शाहको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको तथा त्यसले नेपालको स्थापित अडान, अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत कूटनीतिक दाबी र राष्ट्रिय एकतालाई कमजोर बनाएको उल्लेख गरिएको छ।
What you should know
काठमाडौँ — नेकपा (एमाले)ले नेपाल भारत सीमाबारे प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा व्यक्त गरेको धारणा राष्ट्रहितविपरीत रहेको भन्दै त्यसको निन्दा र भर्त्सना गरेको छ।
एमाले महासचिव शंकर पोखरेलले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री शाहको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको तथा त्यसले नेपालको स्थापित अडान, अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत कूटनीतिक दाबी र राष्ट्रिय एकतालाई कमजोर बनाएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, 'यस्तो संवेदनशील राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट दिनुभएको गैरजिम्मेवार अभिव्यक्तिले देशको स्थापित अडान, द्विपक्षीय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक दावी र राष्ट्रिय एकतालाई गम्भीर रूपमा कमजोर बनाउने काम गरेको छ ।'
एमालेले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा २०७७ सालमा ऐतिहासिक तथ्य, प्रमाण, नापनक्सा तथा सन्धि–सम्झौताका आधारमा जारी गरिएको स्मरण गराउँदै उक्त नक्सालाई संसद्ले सर्वसम्मत रूपमा अनुमोदन गरी संविधानको अनुसूचीमा समावेश गरिसकेको जनाएको छ।
पार्टीले सुगौली सन्धि, ऐतिहासिक नक्सा, जलविज्ञान तथा सरकारी अभिलेखहरूले काली नदीको वास्तविक मुहान लिम्पियाधुरा रहेको पुष्टि गर्ने दाबी गर्दै सीमा विवादको समाधान ऐतिहासिक तथ्य, प्रमाण र कूटनीतिक संवादका आधारमा हुनुपर्ने बताएको छ।
एमालेले प्रधानमन्त्री शाहलाई आफ्नो अभिव्यक्तिप्रति संसद् र नेपाली जनतासँग माफी माग्न पनि आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, 'प्रधानमन्त्री शाहले आफ्नो राष्ट्रहित विपरीतको भनाइप्रति तत्काल संसद् र आमनेपाली जनतासँग माफी माग्दै कूटनीतिक मर्यादाको पालना गर्न र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि मार्ग प्रशस्त गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ ।'
एमालेले राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतासम्बन्धी विषयमा सरकार स्पष्ट, तथ्यपरक र जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा पनि जोड दिएको छ।

