रास्वपा सभापति लामिछाने नयाँदिल्ली प्रस्थान

रास्वपा सभापति लामिछाने भाजपा अध्यक्ष नितिन नवीनलगायतसँगको उच्चस्तरीय भेटवार्तामा सरिक हुने, अयोध्यासमेत जाने

जेष्ठ १८, २०८३

कान्तिपुर संवाददाता

Rashtriya Swayamsevak Sangh (RSS) President Lamichhane leaves for New Delhi.

What you should know

काठमाडौँ — रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणका लागि सोमबार मध्याह्न नयाँदिल्ली प्रस्थान गरेका छन् । रास्वपाको नेतृत्वमा सरकार गठन भएपश्चात सभापति लामिछानेको यो पहिलो औपचारिक भारत भ्रमण हो । 

भ्रमण टोलीमा लामिछानेकी श्रीमती निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य रहेका छन् ।

सत्तारुढ दलका प्रमुखको यस भ्रमणलाई राजनीतिक वृत्तमा विशेष चासो र महत्त्वका साथ हेरिएको छ । भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता हुने भनिए पनि दुवै आधिकारिक रूपमा भने यसको जानकारी गराइएको छैन । भारतीय सत्तारुढ दल भाजपाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा भने सभापति लामिछानेले पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन र अन्य शीर्ष नेताहरूलाई भेट्ने उल्लेख छ ।

अध्यक्ष नवीनकै निम्तोमा लामिछानेको भ्रमण हुन लागेको समेत विज्ञप्तिमा उल्लेख छ । आइतबार नै रास्वपाले पनि विज्ञप्ति जारी गर्दै सभापति लामिछानेको भ्रमणबारे औपचारिक रूपमा जानकारी गराएको थियो । रास्वपा प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा लामिछाने दिल्लीमा उच्चस्स्तरीय भेटवार्तामा सहभागी हुने उल्लेख छ ।

उच्चस्तरीय भेटवार्ताका लागि दिल्लीस्थित नेपाली राजदूतावासले समन्वय गरिरहेको पनि झाले बताएका छन् । साथै व्यक्तिगत भ्रमणका रूपमा लामिछाने अयोध्यासमेत पुग्ने कार्यक्रम रहेको छ । साथै दिल्लीमा प्रवासी नेपाली सम्पर्क, मञ्चको कार्यक्रममा समेत उनी सहभागी हुनेछन् । दिल्लीको लाजपतनगरस्थित लाजपत भवन अडिटोरियममा २१ गते दिउँसो ३ बजे लामिछानेको स्वागत कार्यक्रम राखिएको छ । 

लामिछानेको भ्रमणले दुई देशबीचको राजनीतिक सम्बन्ध र आपसी हितका विषयमा संवाद हुने अपेक्षा गरिएको छ । 

कान्तिपुर

Link copied successfully