सांसद राईले भने : प्रधानमन्त्री शाहलाई प्रश्न सोधेकोमा लज्जाबोध भइरहेको छ

प्रधानमन्त्रीज्यूले यस्तो मिथ्या र तथ्यहीन उत्तर दिनुहुन्थ्यो भन्ने थाहा पाएको भए मैले हिजो प्रश्न नै सोध्ने थिइनँ : आरेन राई

जेष्ठ १८, २०८३

कान्तिपुर संवाददाता

MP Rai said: I feel ashamed for asking questions to Prime Minister Shah.

काठमाडौँ — श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपालले कुनै पनि मुलुकको भूमि नमिचेको बताएका छन् । आइतबार उनकै प्रश्नमा प्रधानमन्त्री वालेन्द्र शाहले 'भारतले मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ' भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिका कारण विपक्षीहरूले संसद्‍ अवरुद्ध गरिरहेका छन् ।  

सोमबार सांसद राईले प्रश्न सोधेकैमा आफूलाई लज्जाबोध भइरहेको बताएका हुन् ।  'सभामुख महोदय, हाम्रो प्रश्नको प्रधानमन्त्रीज्यूले यस्तो कमजोर मिथ्या र तथ्यहीन उत्तर दिनुहुन्थ्यो भन्ने लाग्थ्यो भने, त्यो थाहा थियो भने त्यो प्रश्न नै सोध्ने थिइनँ सभामुख महोदय । मलाई आज त्यो प्रश्न सोधेकोमा लज्जाबोध भइरहेको छ,' उनले भने । 

प्रधानमन्त्रीले संसद्‍को रोस्ट्रममै आएर माफी माग्नुपर्ने राईले बताएका हुन् । 'सम्माननीय प्रधानमन्त्रीज्यूको त्यो अभिव्यक्ति रेकर्डबाट हटाउने कुरा मात्रै होइन, इतिहासमा यस्तो नजिर स्थापित भयो, भोलि तिम्रो प्रधानमन्त्रीले नै भनेको हो, हाम्रो भूमि मिचेको हो, फिर्ता देऊ भन्छ भने कुन भूमि फिर्ता दिने सभामुख महोदय ?,' उनले भने ।

कान्तिपुर

Link copied successfully