सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभाको बैठकमा दलहरूको विरोध जनाएका छन् ।
What you should know
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा नेपाल-भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा दलहरूले विरोध गरेका छन् । एमाले सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शाहमाथि प्रश्न उठाएकी छन् ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा सांसद झाँक्रीले आफ्नो अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री शाहले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरिन् । भारतले नेपालको भूमि मिचिरहेको अवस्थामा प्रधानमन्त्री शाहले भने नेपालले भारतको जग्गा मिचेको भन्ने अभिव्यक्ति दिएर राष्ट्रहित विरुद्ध बोलेको झाँक्रीको भनाइ थियो ।
'नेपालले सीमा मिचेको छ भन्दा कसको हितमा नेपालको प्रधानमन्त्री हुनुहुन्छ ? हामीलाई लज्जाबोध भएको छ । यस्तो प्रधानमन्त्रीले नेपाली स्वाभिमान, नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डतालाई रक्षा गर्न सक्नुहुन्छ कि हुँदैन ? भन्ने प्रश्न उठेको छ,' झाँक्रीले भनिन् ।
पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले प्रधानमन्त्री शाहको अभिव्यक्ति पछि लुकेको मनोदशा के हो भनेर पनि प्रश्न गरेकी थिइन् । 'प्रधानमन्त्रीको के मनोदशा हो ? असावधानीवश भन्ने होइन लाग्छ,' उनले भनिन् ।
भारतले नेपालको सीमा मिचेको र भारतीय सुरक्षाकर्मीले सीमामा नेपालीलाई दुःख दिने गरेको विषय पनि झाँक्रीले बैठकमा उठाएकी थिइन् । 'सीमा मात्रै मिचिएको छैन, भारतीय सशस्त्र बलले नेपालीलाई कुटपिट गर्ने, आनन्द गौतमको त हत्या नै भयो,' उनले थपिन्, 'रास्वपा अध्यक्षको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री वालेन्द्र शाहले के मनसायका साथ, कन्सर्टमा आएजस्तै, प्रतिनिधिसभामा बिनासूचना, प्रतिनिधिसभा सञ्चालन गर्ने नियमावलीको विरुद्धमा, सांसदहरूलाई जवाफ दिन्छु भनेर उपस्थित भएर जे कुरा बोल्नुभएको छ त्यो जिब्रो चिप्लिएको, असावधानीवश बोलेको हो भन्ने लाग्दैन । यसका पछाडि कुनै केही गहिरो कारण छ र स्वाभिमानी नेपालीहरूले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।'
सीमामा भारतीय पक्षले जंगेपिल्लर नेपालतर्फ सार्दा नेपालीको भूमि भारतमा पर्ने गरेको पनि झाँक्रीको भनाइ छ । उनले त्यस्तो भोगचलनको अवस्थालाई सीमा विवादको विषयसँग जोडेर अभिव्यक्ति दिएकोमा झाँक्रीले आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईको प्रश्नको जवाफ दिने क्रममा लिपुलेक, कालापानी र लिम्पियाधुरा विवादमा कूटनीतिक रूपमा समाधानको प्रयास भइरहेको बताएका थिए । तर त्यसक्रममा उनले भनेका थिए, 'तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला म पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मिचेको मात्र होइन, नेपालले पनि भारतको थुप्रै जग्गा मिचेको रहेछ ।'
प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको छ । राजनीतिक दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेका हुन् ।
