कांग्रेस सांसद निश्कल राईले रास्वपा सांसदहरूलाई भने, 'प्रधानमन्त्रीको अभिव्यक्तिमा बडो गर्वका साथ सत्तापक्षका सांसदले ताली पड्काउनुभयो । उहाँहरूलाई पनि प्रश्न छ, अलिकति आत्मग्लानी यहाँहरूलाई पनि हुनुपदर्छ ।'
काठमाडौँ — प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सीमा विवादका सम्बन्धमा दिएको अभिव्यक्ति र गरेको दाबीलाई लिएर विरोध भइरहेको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विपक्षी दलका नेताहरूले प्रधानमन्त्री शाहको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । उनीहरूले प्रधानमन्त्रीले बोलेको विषय गम्भीर भएकाले संसद्को रेकर्डमा राखिरहन नमिल्ने बताएका हुन् ।
प्रमुख प्रतिपक्षी कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री शाहको अभिव्यक्तिमा टेकेर भारतले जग्गा फिर्ता मागेमा कुन जग्गा फिर्ता दिने हो ? भनी प्रश्न गरेका छन् । 'संसदको रोष्ट्रममा उभिएर उहाँले बोलेको विषयमा हाम्रो नोट अफ डिसेन्ट छ । फेरि उहाँ यही संसद्को रोस्ट्रममा उभिनुपर्छ । नेपालले कहाँ-कहाँ भारतको जग्गा मिच्यो एक एक इन्चको हिसाब हामीलाई दिनुपर्छ । हामीलाई हिसाब चाहिन्छ,' राईले भने, 'यो राष्ट्रिय स्वाभिमानको विषय हो । राष्ट्रिय सुरक्षाको विषय हो । भोलि भारतले हाम्रो जग्गा फिर्ता चाहिन्छ भन्यो भने हामीले कुन जग्गा फिर्ता दिने ?'
प्रधामन्त्रीको अभिव्यक्तिको बचाउमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको र सत्तारुढ दल रास्वपाका सांसदले टेबुल बजाएकोमा पनि राईले आपत्ति जनाए । रास्वपा सांसदहरूलाई राईले सोधे, 'रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले भन्नुभयो नेपालले पनि भारतको जग्गा मिचेको छ, यो संसद्मा रेकर्ड भएको छ । अभिव्यक्ति नजीर बनेर स्थापित भएको छ । जसमा बडो गर्वका साथ सत्तापक्षका सांसदले ताली पड्काउनुभयो । उहाँहरूलाई पनि प्रश्न छ, अलिकति आत्मग्लानी यहाँहरूलाई पनि हुनुपदर्छ ।'
प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईको प्रश्नको जवाफ दिने क्रममा लिपुलेक, कालापानी र लिम्पियाधुरा विवादमा कूटनीतिक रूपमा समाधानको प्रयास भइरहेको बताएका थिए । तर त्यसक्रममा उनले भनेका थिए, 'तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला म पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मिचेको मात्र होइन, नेपालले पनि भारतको थुप्रै जग्गा मिचेको रहेछ ।'
प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा विरोध जनाएपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका छन् ।
