पक्राउ परेका नेविसंघका नेता रिहा गर्न कांग्रेसको माग

शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारमाथि ठाडो उल्लंघन गर्दै विद्यार्थी नेताहरूलाई पक्राउ गर्नु अत्यन्त निन्दनीय भएको कांग्रेसले जनाएको छ ।

जेष्ठ १८, २०८३

कान्तिपुर संवाददाता

Congress demands release of arrested Nepali Congress leaders

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार संसद्‌मा दिएको नेपाल-भारत सीमा समस्यासम्बन्धी अभिव्यक्तिको विरोध गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा पक्राउ परेका नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थी नेताहरूलाई तत्काल रिहा गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

कांग्रेसका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषय ‘सीमा समस्या’ सम्बन्धमा प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट दिएको अभिव्यक्तिविरुद्ध सिंहदरबारको दक्षिण गेटमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका नेविसंघका नेता राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाथोकी र गौरव पाण्डेलाई प्रहरीले पक्राउ गरेको भन्दै तत्काल रिहाइको माग गरेको हो । 

विज्ञप्तिमा शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारमाथि ठाडो उल्लंघन गर्दै विद्यार्थी नेताहरूलाई पक्राउ गर्नु अत्यन्त निन्दनीय भएको कांग्रेसले उल्लेख गरेको छ । 

कांग्रेसले लोकतान्त्रिक मूल्य र नागरिक स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गर्दै पक्राउ परेका विद्यार्थी नेताहरूलाई अविलम्ब रिहा गर्न जोडदार माग गरेको छ।

कान्तिपुर

Link copied successfully