अध्यक्ष लिङ्देन र महामन्त्री राणाबीच जारी द्वन्द्व फुटतिर, जेठ २१ मा राष्ट्रवादी शक्ति घोषणा गर्ने राणाको तयारी
What you should know
काठमाडौँ — प्रतिनिधिसभामा पाँच सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटको संघारमा पुगेको छ । अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीच लामो समयदेखि द्वन्द्व पार्टी फुटतिर उन्मुख भएको हो ।
महामन्त्री राणाले आइतबार राप्रपा त्याग गरी ‘राष्ट्रवादी’ शक्ति निर्माण गर्ने बताएका छन् । नयाँ अभियानमा सहभागी हुन पार्टीभित्र र बाहिरका राष्ट्रवादीलाई उनले आग्रह गरेका छन् ।
उनले जेठ २१ देखि अभियान थाल्ने ईकान्तिपुरसँग बताएका छन् । ‘मैले राष्ट्रवादी शक्ति निर्माण गर्न अभियान सुरु गरेको छु । जेठ २१ मा हामी थप घोषणा गर्नेर्छौं,’ उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गर्यौं । तर, विरोधाभाष र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिंड्ने, हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो । राप्रपामा आबद्ध साथीहरुलाई यही बाटो सही लाग्छ, त्यतै रहन शुभकामना छ, कुनै वैरभाव छैन ।’
शुभेच्छुक, सहयोद्धा तथा सहयात्रीहरुको राय सल्लाहबमोजिम देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको उनको भनाइ छ । ‘समयको पदचाप र जनभावनाअनुरुप अघि बढ्न देश विदेशमा रहनु हुने नेपालीहरुको सुझाव र शुभेच्छाहरु प्राप्त भएको छ,’ उनको भनाइ छ, ‘देशलाई माया गर्ने, देशको समृद्धि चाहने आम राष्ट्रवादी मित्रहरु लगायत नवयुवा पुस्तालाई समेत नयाँ अभियानमा सहभागी हुन हार्दिक आहृवान गर्दछु ।’
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विगत लामो समदेखि महामन्त्री राणाले पार्टीमा दरार ल्याउने चाहना पूरा हुन लागेको बताए । ‘महामन्त्री राणा विगत लामो समयदेखि पार्टीभित्र दरार ल्याउन लाग्नुभएको थियो । अब त्यो चाहना पूरा गर्ने बाटोमा हुनुहुन्छ,’ उनले भने, ‘तर राप्रपालाई एकताबद्ध गर्ने प्रयास भने जारी रहन्छ ।
राप्रपाभित्र चार वर्षदेखि अध्यक्ष लिङ्देन र महामन्त्री राणा पक्षबीच द्वन्द्व हुँदै आएको छ । संस्थापन पक्षले राणा सक्रिय राजाको पक्षमा भएको, संवैधानिक राजतन्त्रमा अघि बढ्ने पार्टीको नीतिविरुद्ध उभिएको, संगठन कमजोर पार्न खोजेको आरोप लगाउँदै आएको छ । राणा पक्षले भने अध्यक्षले स्वेच्छाचारी ढंगले फरक मत राख्ने नेता तथा कार्यकर्तालाई कारबाहीको ‘डण्डा’ चलाएको भन्दै त्यसविरुद्ध संघर्ष गरेको बताएको छ ।
गत चैतमा महामन्त्री राणाको नेतृत्वमा काठमाडौंमा भएको भेलाले एक साताभित्र महाधिवेशनको मिति घोषणा गर्न माग गरेको थियो । भेलाले अध्यक्ष लिङ्देनलाई ३ बुँदे पत्र लेखी जेठमा महाधिवेशन गर्नेगरी मिति तोक्न माग गरेको थियो । तर संस्थापन पक्षले महाधिवेशन नबोलाएको बताएको छ ।
लिङ्देनलाई बुझाएको मागपत्रमा ‘सन्तुलित र विश्वसनीय वातावरणमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्नेगरी निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन, केन्द्रीय महाधिवेशनको मिति एक साताभित्र घोषणा, यसअघि विधानविपरित भएका कामकारबाहीको छानबिनको मागसमेत गरिएको छ ।
२१ फागुनको निर्वाचनको कारण देखाउँदै राप्रपाले महाधिवेशन मिति छ महिना पर सारेको थियो । ०८२ साउनमा राप्रपाको युवा संगठनको काठमाडौं जिल्ला सम्मेलनमा संस्थापन र महामन्त्री राणा पक्षका युवाहरूबीच हात हालाहाल भएको थियो । धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा भएको सम्मेलनमा अध्यक्ष लिङ्देन प्रमुख अतिथि थिए । तर सम्मेलन उद्घाटन नहुँदै अध्यक्ष लिङ्देन र महामन्त्री राणा समूहबीच हात हालाहाल भएको थियो ।
त्यसअघि ०८१ असोजमा अध्यक्ष लिङ्देनले महामन्त्री राणालाई संगठन विभागको प्रमुखबाट हटाएपछि विवाद सुरु भएको थियो । राणाको जिम्मेवारी खोसेर वरिष्ठ नेता बुद्धिमान तामाङलाई दिइएपछि द्वन्द्व सुरु भएको थियो । ०८१ फागुन २५ मा पोखराबाट फर्कंदै गरेका पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न विमानस्थल जाने विषयमा लिङ्देन र राणाबीच द्वन्द्व सतहमा आएको थियो । लिङ्देनलाई बेवास्ता गरी पूर्वराजा ज्ञानेन्द्रले राणा, नेता नवराज सुवेदी, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अघि सारेपछि राप्रपामा विवाद बढ्न थालेको थियो ।
मूलधारका राजनीतिक दल र सरकारप्रति चरम असन्तुष्टि बढिरहेका बेला गएको वसन्त ऋतुमा राजतन्त्र पुनर्स्थापना गर्ने भएको आन्दोलनमा राजावादी पार्टी/शक्तिहरू सक्रिय भएका थिए । तर चैत १५ को तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनले राजावादी शक्तिहरू नै तितरवितर भएका थिए ।
राजतन्त्र पुन:स्थापनका लागि राप्रपाका नेता सुवेदीलाई जनआन्दोलनको संयोजक तोकेपछि लिङ्देन असन्तुष्ट थिए । ४ चैतमा घोषणा भएको जनआन्दोलन समितिमा १० नम्बरमा राखेपछि लिङ्देन चिढिएका थिए ।
राप्रपाको ३५ वर्षे यात्रामा ६ पटक विभाजन भइसकेको छ । पहिलो पटक २०४७ जेठ १५ गते नेतृत्व विवादका कारण पार्टी राप्रपा (चन्द) र राप्रपा (थापा)मा विभाजित भयो । दोस्रो पटक २०५३ सालमा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दबीचको सत्तासंघर्षका कारण पुनः दुई चिरामा विभाजन भयो । तेस्रो पटक २०६२ पुसमा कमल थापाले अलग भएर राप्रपा नेपाल गठन गरे । थापा फागुन २१ को निर्वाचनअघि फेरि राप्रपामा मिसिएका थिए ।
चौथो पटक २०६३/६४ तिर प्रकाशचन्द्र लोहनी र कमल थापा पशुपतिशमशेर राणासँग अलग भई राष्ट्रिय जनशक्ति पार्टी गठन गर्न पुगे ।
२०७३ चैतमा प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरे भने त्यसको निरन्तरतामा २०७४ साउनमा पशुपतिशमशेर राणाले राप्रपा (प्रजातान्त्रिक) स्थापना गरे । यो पाँचौं विभाजन हो ।
छैटौं पटक २५ मंसिर २०७८ मा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले राप्रपा छाडेर राप्रपा नेपाल पुनः ब्यूँताए ।
