प्रधानमन्त्रीले प्रतिनिधिसभा नियामावली मिच्नुभयो : नेकपा

प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा सांसदहरूसँग प्रश्नोत्तर गर्न समय माग गरेपछि सभामुख डोलप्रसाद अर्यालले समय दिएका थिए ।

जेष्ठ १७, २०८३

कान्तिपुर संवाददाता

Prime Minister violated the rules of the House of Representatives: NCP

काठमाडौँ — नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभा नियमावली उल्लंघन गरेको आरोप लगाएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले प्रधानमन्त्रीबाट संविधान र नियमावली मिचिएको विषय संसद्को ध्यानाकर्षण गराउन चाहेको बताए ।

‘आज फेरि एकपटक संविधान र नियमावली मिचिएको कुरा संसदलाई अवगत गराउनु चाहन्छु । सम्माननीय प्रधानमन्त्रीबाट त्यो हुनु राष्ट्रको लागि धेरै नै दुःखद् हो । हाम्रो प्रतिनिधिसभा नियामावली, २०७९ को ५६ एकमा प्रतिनिधिसभाका सदस्यहरुले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने व्यवस्था छ । जसअन्तर्गत समूह विभाजन गरिन्छ, १५/१५ जनाको, त्यो समूहले प्रधानमन्त्रीलाई प्रश्न सोध्नुभन्दा ३ दिन अगाडि नै लिखित रूपमा प्रश्न दिने र प्रधानमन्त्री उपस्थित भएको दिन १ घण्टा प्रश्नोत्तर राख्ने प्रावधान भएकोले यो नियामावलीको नियम मिचिएको कुरा दुःखका साथ दर्ज गर्न चाहन्छु,’ उनले भने । 

प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा सांसदहरूसँग प्रश्नोत्तर गर्न समय माग गरेपछि सभामुख डोलप्रसाद अर्यालले समय दिएका थिए । 

कान्तिपुर

Link copied successfully