गणतन्त्र दिवसमा राष्ट्रपतिको पहिलो सम्बोधन : गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ

राष्ट्रपतिले राजनीतिक दल, सरकार र नेतृत्व विनयशील, जनउत्तरदायी तथा चरित्रवान हुनुपर्नेमा जोड दिए।

जेष्ठ १५, २०८३

इकान्तिपुर डेस्क

President's first address on Republic Day: The Republic has guaranteed all political rights

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको बताएका छन्। शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था भएको उल्लेख गरे।

‘लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था हो,’ प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्न आग्रह गरेपछि पहिलोपटक गणतन्त्र दिवसमा सम्बोधन गरेका उनले भने, ‘जनता आफैंले बनाएको संविधानमार्फत देशलाई हामीले संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादका मान्यताले सिंचित बनाएर थप व्यवस्थित गरेका छौं।’

गणतन्त्रले नै सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुर्‍याएको समेत राष्ट्रपति पौडेलको भनाइ छ। ‘हाम्रो संविधानले नागरिक सर्वोच्चतालाई महान अभ्यासका रूपमा अंगीकार गरेको छ,’ उनले भने, ‘यही अभ्यासले सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुर्‍याएको छ। प्रदेश र स्थानीय तहले त्यसबमोजिम जिम्मेवारी निर्वाह गरिरहेका छन्। जनताको घर–आँगनबाटै सार्वभौमसत्ताको अभ्यास भइरहेको छ।’

‘गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ। यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउनका लागि अभिप्रेरित गरेको छ,’ उनले थपे।

राष्ट्रपतिले राजनीतिक दल, सरकार र नेतृत्व विनयशील, जनउत्तरदायी तथा चरित्रवान हुनुपर्नेमा जोड दिए। ‘हाम्रा राजनीतिक दल, हाम्रा सरकार र हाम्रो नेतृत्व सिर्जनशील, विनयशील, जनउत्तरदायी र चरित्रशील हुनैपर्छ। हाम्रा शासकीय अंगहरूलाई गतिशील बनाउनै पर्छ,’ पौडेलले भने।

इकान्तिपुर

Link copied successfully