कांग्रेस प्रतिष्ठानमा ७ विषयगत उपसमिति गठन

प्रतिष्ठानको बुधबार बसेको बैठकको निर्णय अनुसार विभिन्न नीति तथा सामाजिक विषयमाकेन्द्रित उपसमितिहरू गठन गर्दै संयोजक तोकेको हो ।

जेष्ठ १४, २०८३

कुलचन्द्र न्यौपाने

7 thematic subcommittees formed in Congress Foundation

काठमाडौँ — नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार सात वटा विषयगत उपसमिति गठन गरेको छ । प्रतिष्ठानको बुधबार बसेको बैठकको निर्णय अनुसार विभिन्न नीति तथा सामाजिक विषयमाकेन्द्रित उपसमितिहरू गठन गर्दै संयोजक तोकेको हो ।

जस अनुसार अर्थ योजना तथा पार्टीको नीति, दृष्टि र योजनासम्बन्धी उपसमितिको संयोजकमा गोविन्दराज पोख्रेललाई तोकेको छ । उक्त उपसमितिले निजी क्षेत्र, सेयर बजार, बिमा, सहकारीलगायत समग्र वित्तीय क्षेत्रका विषयमा काम गर्ने जनाइएको छ ।

त्यसैगरी जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजकमा रोशनी गिरी चयन भएकी छिन् । उक्त उपसमितिले हिमालमा परेको असर न्यूनीकरणदेखि वातावरण संरक्षण अभियानसम्मका विषयमा काम गर्नेछ।

नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय उपसमितिको संयोजकमा मीनबहादुर भाम नियुक्त भएका छन्।  उक्त उपसमितिले जेन–जी अघिको पुस्तादेखि ‘अल्फा’ पुस्ता र नागरिक समाजका प्रबुद्ध तहसम्म संवाद तथा समन्वय गर्ने जिम्मेवारी पाएको छ । 

अनौपचारिक क्षेत्रका श्रमिक नीति तथा न्याय सम्बन्धी उपसमितिको संयोजकमा महेन्द्र यादव र  बाल अधिकार उपसमितिको संयोजकमा उमंग लोहनी नियुक्त भएका छन् । बाल अधिकार उपसमितिले बाल श्रमदेखि समग्र बालहित संरक्षण अभियानसम्मका विषयमा काम गर्ने जनाईएको छ । 

सार्वजनिक सेवा प्रवाह, नीति तथा थिती संवाद उपसमितिको संयोजकमा गोपालप्रसाद पोख्रेल तथा गैरसरकारी संस्था नीति संवाद तथा समन्वय उपसमितिको संयोजकमा अञ्जु झा नियुक्त भएका छन् ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully