एमालेको प्रश्न : यति धेरै जनमत पाएको सरकार र त्यसको प्रमुख संसद्सँग किन त्रसित छ ? संसद्लाई छल्ने प्रयास किन भइरहेको छ ?
What you should know
काठमाडौँ — एमालेले प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा किन नआएको भन्दै फेरि प्रश्न उठाएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री संसद्बाट टाढा रहन खोजेको आरोप लगाए ।
'यति धेरै जनमत पाएको सरकार र त्यसको प्रमुख संसद्सँग किन त्रसित छ ? संसद्लाई छल्ने प्रयास किन भइरहेको छ ?,' उनको प्रश्न छ । प्रधानमन्त्री संसद्प्रति गैरजिम्मेवार बनेको आरोप लगाउँदै उनले सरकार संविधान र संसदीय अभ्यासविपरीत अघि बढिरहेको बताए । उनले संविधानको धारा ७६(१०) र धारा ८१ को भावना सरकारले उल्लंघन गरिरहेको उल्लेख गरे ।
'यति धेरै अपार जनमत पाएको सरकार र त्यसको प्रमुख यो संसद्सँग किन तर्सिरहनुभएको छ ? संसद्सँग किन टाढा भइरहनुभएको छ र यसलाई छल्न खोजिरहनुभएको छ ? आज आम जनता र संसद्मा प्रतिनिधित्व गर्ने सबैको यो आम प्रश्न हो,' महरको भनाइ थियो ।
आजसम्म एकपटक पनि प्रधानमन्त्रीले संसद्मा आएर कुनै पनि कुराको जवाफ नदिएको उल्लेख गर्दै उनले भने, ' यसप्रति उहाँको रेस्पोन्स छैन, रेस्पेक्ट छैन । प्राक्टिसहरू जुन छ, त्यसको खण्डन गरिएको छ । अहिले कार्यपालिका र राष्ट्रपतिको बीचमा दूरी पैदा गर्ने काम भइरहेको छ । यो पनि संविधानको गम्भीर उल्लंघन हो ।'
प्रधानमन्त्रीले संसद् निवयावलीमा भएका धेरै कुराहरूलाई अनदेखा गरिरहेको पनि उनको भनाइ छ ।
'के प्रधानमन्त्री वालेन्द्र शाहलाई खोपीको देउता बनाएर घण्टी बजाएर पूजा गर्न लागेको हो ? लोकतन्त्रको चिर हरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजेको हो ? संविधानको चिरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ?,' उनले भने ।
