राज्यले महिलासँग सार्वजनिक रूपमा माफी माग्नुपर्छ : सांसद गुरुङ

महिला दिदीबहिनीसँगको माफी सभ्यताको परिचय हो । राज्यले अब औपचारिक रूपमा सार्वजनिक रूपमा महिलाहरूसँग माफी माग्नुपर्छ । -सांसद गीता गुरुङ

जेष्ठ १२, २०८३

कान्तिपुर संवाददाता

The state should publicly apologize to women: MP Gurung

काठमाडौँ — कांग्रेस सांसद गीता गुरुङले विगतमा भएका संरचनागत विभेद र कुप्रथाका कारण महिलाले भोग्नुपरेको पीडाप्रति राज्यले औपचारिक रूपमा माफी माग्नुपर्ने माग गरेकी छिन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा महिलाहरूसँग पनि क्षमायाचना गर्नुपर्ने बताएकी हुन् । 

सांसद गुरुङले नेपाली इतिहासमा महिलाहरूले पुस्ताौंदेखि विभेद, हिंसा र वञ्चितीकरणको सामना गर्नुपरेको तथ्य प्रस्तुत गरेकी हुन् । उनले सती प्रथा, बोक्सीको लाञ्छना, छाउपडी जस्ता कुप्रथा र नागरिकता तथा सम्पत्तिमाथिको अधिकारमा भएको विभेदका कारण महिलाहरू सधैँ दोस्रो दर्जाको नागरिकका रूपमा रहनुपरेको उल्लेख गरिन् ।

२०१६ सालमा बीपी कोइरालाले दक्षिण एसियाकै पहिलो महिला मन्त्रीका रूपमा द्वारिकादेवी ठकुरानीलाई नियुक्त गरेको र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा महिला मन्त्रालय तथा राष्ट्रिय महिला आयोगको स्थापना भएको उल्लेख गर्दै उनले ती पहलहरूप्रति आभार व्यक्त गरिन् । 

सांसद गुरुङले वर्तमान सरकारको नीति तथा कार्यक्रममा महिलाका मुद्दाहरू पर्याप्त रूपमा नसमेटिएकोमा चासो व्यक्त गरिन् । 

'यदि दलित समुदायसँगको माफी न्यायको सुरुवात हो भने, महिला दिदीबहिनीसँगको माफी सभ्यताको परिचय हो । राज्यले अब औपचारिक रूपमा सार्वजनिक रूपमा महिलाहरूसँग माफी माग्नुपर्छ । यो माफी केवल शब्दमा मात्र सीमित नभई उनीहरूको अर्थपूर्ण प्रतिनिधित्व, आर्थिक आत्मसम्मान र आत्मनिर्भरताको सुनिश्चिततासहितको हुनुपर्दछ,' सांसद गुरुङको भनाइ  छ । 

कान्तिपुर

Link copied successfully