सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेल भन्छन् : रास्वपा सभापतिज्युको भारत भ्रमण नितान्त निजी वा पार्टीगत हुन सक्छ, यसमा प्रधानमन्त्रीज्यूको कुनै सम्बन्ध छैन ।
काठमाडौँ — सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह सरकारको कार्यसम्पादनमा केन्द्रित रहेको बताएका छन् ।
सोमबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता पोखरेलले सरकारको पहिलो १०० दिनको कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले हाल कुनै पनि देशको भ्रमण गर्ने सोच नबनाएको स्पष्ट पारेका हुन् ।
प्रधानमन्त्रीको सम्भावित भारत भ्रमण र रास्वपा सभापतिको विदेश भ्रमणलाई जोडेर गरिएको चर्चाका सन्दर्भमा स्पष्ट पार्दै मन्त्री पोखरेलले भने, ‘प्रधानमन्त्रीज्यू अहिले भारत मात्र होइन, अन्य कुनै पनि देशको भ्रमणमा जाने तयारीमा हुनुहुन्न । हामी अहिले सरकारको सुरुवाती १०० दिनको कार्ययोजना र लक्ष्यमा बढी केन्द्रित छौँ ।’
उनले सभापति लामिछानेको भ्रमण पनि निजी वा पार्टीगत हुन सक्ने बताए । उनले अगाडि भने, ‘सभापतिज्युको भ्रमण नितान्त निजी वा पार्टीगत हुन सक्छ, यसमा प्रधानमन्त्रीज्यूको कुनै सम्बन्ध छैन ।’
