सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सोमबार बसेको बैठकले देशभर सदस्यता अद्यावधिकलाई द्रुत र व्यवस्थित बनाउन सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा सदस्यलाई विशेष जिम्मेवारी तोकेको छ ।
What you should know
काठमाडौं — कांग्रेसले १५औँ महाधिवेशनको तयारीस्वरुप क्रियाशील सदस्यता अद्यावधिक तथा नवीकरण अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ ।
पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सोमबार बसेको बैठकले देशभर सदस्यता अद्यावधिकलाई द्रुत र व्यवस्थित बनाउन सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा सदस्यलाई विशेष जिम्मेवारी तोकेको छ भने सदस्यतासम्बन्धी विवाद समाधानका लागि विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधिसमेत खटाएको छ ।
सभापति गगन थापाको उपस्थितिमा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले आगामी जेठ २१ गतेभित्र नयाँ क्रियाशील सदस्यता वितरण, नवीकरण तथा केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्य सम्पन्न गर्ने निर्णय गरेको हो ।
बैठकले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र प्रभावकारी बनाउन सातै प्रदेशमा जिम्मेवारी बाँडफाँट गरेको छ । कोशी प्रदेशको जिम्मेवारी डिला संग्रौलालाई, बागमतीमा बहादुरसिंह लामालाई, गण्डकीमा मुक्ताकुमारी यादवलाई, लुम्बिनीमा अमरसिंह पुनलाई, कर्णालीमा जानकी सिंहलाई, मधेशमा देवराज चालिसेलाई तथा सुदूरपश्चिममा उदयशमशेर राणालाई खटाइएको छ ।
पार्टीले १४औँ महाधिवेशनका क्रममा गठन भएको क्रियाशील सदस्यता छानबिन समितिबाट आधिकारिकता दिएका सदस्यतालाई पुरानै सदस्यता मानेर नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरुलाई परिपत्र गर्ने निर्णय पनि गरेको छ । यसबाट अघिल्लो महाधिवेशनका क्रममा देखिएका सदस्यता विवादलाई कम गर्दै अद्यावधिक प्रक्रियालाई सहज बनाउने पार्टीको अपेक्षा छ ।
त्यस्तै, विभिन्न दलबाट कांग्रेसमा समायोजन भएका नेताकार्यकर्ताको सदस्यतासम्बन्धी समस्या समाधान गर्न पार्टीले १३ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । बारा, सिराहा, धनुषा, सप्तरी, सर्लाही, महोत्तरी, रौतहट, पर्सा, कपिलवस्तु, सुनसरी, सुर्खेत, सोलुखुम्बु र काठमाडौंमा प्रतिनिधि पठाएर सदस्यता विवाद समाधान तथा समन्वयको जिम्मेवारी दिइएको छ ।
विदेशस्थित जनसम्पर्क समितिको सदस्यता व्यवस्थापनलाई पनि कांग्रेसले प्राथमिकतामा राखेको छ । अधिवेशन सम्पन्न भइसकेका ७ देशका जनसम्पर्क समितिलाई क्रियाशील सदस्यता अद्यावधिकका लागि अनुमति दिने तथा समस्या नदेखिएका १५ देशका जनसम्पर्क समितिलाई अधिवेशन सम्पन्न गर्ने समयतालिका केन्द्रीय कार्यालयमा पेश गर्न निर्देशन दिने निर्णय बैठकले गरेको छ । साथै, १४औँ महाधिवेशनपछि केन्द्रीय कार्यालयसँग कम सम्पर्क भएका ७ देशका जनसम्पर्क समितिमा सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रिया अघि बढाइने भएको छ । सदस्यतासम्बन्धी विवाद देखिएका ८ देशका जनसम्पर्क समितिको समस्या अध्ययन गरी समाधानका लागि आवश्यक समन्वय गर्ने निर्णय पनि गरिएको छ ।
बैठकले पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा केन्द्रीय कार्यालयका सहसचिव प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।
