भेलामा मन्तव्य राख्ने क्रममा कमलबहादुर शाह, रमेश लेखक, एनपी साउद, वीरबहादुर बलायरलगायतले शेरबहादुर देउवाको सम्मान हुनुपर्नेमा जोड दिएका थिए ।
धनगढी — आइतबार धनगढीमा आयोजित देउवा समूहको सुदूरपश्चिम प्रदेश भेलाले क्रियाशील सदस्यता नविकरण जरुरी नभएको उल्लेख गरेको छ ।
भेलाले भनेको छ, 'नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका १४औँ महाधिवेशनको समितिले सार्वजनिक गरी वडा तहदेखि संगठनात्मक गतिविधिलाई व्यवस्थित गराउँदै क्रियाशील सदस्यता नवीकरण गरिसकेको हुँदा पुनः १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न आवश्यक छैन ।'
क्रियाशील सदस्यताकै सन्दर्भमा भेलाद्वारा जारी ११ बुँदे विज्ञप्तिमा अगाडि भनिएको छ, '१४औँ महाधिवेशनबाट निर्वाचित समितिहरूमार्फत सदस्यता नवीकरण शुल्कसमेत तिरी अद्यावधिक कार्य सम्पन्न भइसकेको अवस्थामा पुनः अनावश्यक प्रक्रियामा अल्झिनुभन्दा संगठन सुदृढीकरण, प्रशिक्षण तथा कार्यकर्ता परिचालनमा ध्यान केन्द्रित गर्नुपर्ने धारणा राख्दछौँ ।'
भेलाले १४औँ महाधिवेशनका दुईतिहाई नेता तथा कार्यकर्ता सानेपाबाहिर रहेको हुँदा विशेष महाधिवेशनको समितिले यसको महत्व र गम्भीरतालाई मध्यनजर गर्दै 'एकतामा बल हुन्छ' भन्ने भनाइलाई सार्थकता दिन विशेष महाधिवेशनको समिति तथा सोभन्दा बाहिर रहेका नेता–कार्यकर्तालाई एकबद्ध गरी १५औँ महाधिवेशनको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएको छ ।
भेलाले कांग्रेसको शक्ति आदेशमा होइन, सम्मान, सहमति र आत्मीयतामा टिकेको इतिहास रहेको स्मरण गर्दै विशेष महाधिवेशनबाट स्थापित समितिले ५४ प्रतिशतको सभापति नभई १०० प्रतिशतको सभापति बन्न अत्यन्त लचकता अपनाउन आवश्यक देखिएको निष्कर्ष निकालेको कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले बताए ।
भेलामा मन्तव्य राख्ने क्रममा कमलबहादुर शाह, रमेश लेखक, एनपी साउद, वीरबहादुर बलायरलगायतले शेरबहादुर देउवाको सम्मान हुनुपर्नेमा जोड दिएका थिए ।
