प्रदेश सभापति वीरबहादुर बलायर भन्छन् : जरा उखेल्नेहरूलाई हामीले हेरेर बस्दैनौं र हाम्रो मापदण्ड जसले मान्दैन, उसलाई फालिदिन्छौं ।
What you should know
धनगढी — कांग्रेस देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला आइतबार धनगढीमा सुरू भएको छ । देउवा पक्षधरले भेलालाई शक्ति प्रदर्शनकै रूपमा लिएको छ । भेल अघि दुवै पक्षले भेलामा बोलाउने र रोक्ने कसरत गरेका थिए ।
भेलाको आयोजना प्रदेश सभापति वीरबहादुर बलायरको अगुवाइमा प्रदेश कार्य समितिले गरेको हो । भेलामा रमेश लेखक, एनपी साउद, नैनसिंह महर, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट, सामाजिक विकासमन्त्री मेघराज खड्का, राष्ट्रिय सभा सदस्य तथा कैलाली जिल्ला सभापति नारायणदत्त मिश्र, खम्मबहादुर खाती, धनगढीका पूर्वमेयर नृपबहादुर वड, देउवा पक्षधर जिल्ला सभापतिहरू, प्रदेशका पदाधिकारीलगायत नौ वटै जिल्लाका नेताहरूको सहभागिता रहेको छ । देउवा पक्षले भेलालाई शक्ति प्रदर्शनकै रूपमा लिएको छ । भेलाको प्रमुख अतिथि एनपी साउदलाई बनाइएको छ ।
प्रदेश सभापति बलायरले कसैको घमण्डले कांग्रेस नचल्ने बताउँदै आफूहरू शेरबहादुर देउवाको प्रेरणाले कांग्रेसमा लागेको बताए । ‘पार्टी सदस्यता नवीकरण र लेबीका विषयमा हाम्रो आपत्ति छ,’ उनले भने ‘प्रदेश सभापतिको निर्देशन र पार्टीको मापदण्ड नमान्नेहरूलाई पार्टीबाट निकाल्छौं । जरा उखेल्नेहरूलाई हामीले हेरेर बस्दैनौं र हाम्रो मापदण्ड जसले मान्दैन, उसलाई फालिदिन्छौं ।’
विशेष महाधिवेशनबाट निर्वाचित तथा मनोनीत केन्द्रीय सदस्यहरू भने भेलामा उपस्थित छैनन् । केन्द्रीय सदस्यहरू विजय स्वार, हिम रावल, सुनिता राना, सम्झना केसी, निपा चोखाल, सन्तोषी ऐरी, जनक गिरी, भरत खड्का, नरेन्द्र भट्ट, जगत जोशी, विरेन्द्र बुडूलगायत उपस्थित नभएको विशेष महाधिवेशन पक्षधर एक नेताले बताए । यसअघि सभापति गगन थापालगायतका नेताहरूको उपस्थितिमा प्रदेश भेला आयोजना गरिएको थियो । सोही भेलाको काउन्टरमा अहिले देउवा समर्थकहरूले भेला आयोजना गरेको नेताहरूले बताए ।
भेलामा मोहन बस्नेत, ईश्वरी न्यौपाने, रणबहादुर रावल, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, बागमती प्रदेशका पूर्वअर्थमन्त्री कुन्दनराज काफ्लेलगायत पनि सहभागी छन् ।
