रास्वपा सांसद अधिकारीको माग- १५ दिनभित्र किसानले भुक्तानी अनिवार्य पाउने कानुनी व्यवस्था गरियोस्

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उखु किसान, दुध किसान लगायतको भुक्तानी वर्षौसम्म पनि हुन नसकिरहेको दृष्टान्त पेश गर्दै सरकारसँग उक्त माग गरेकी हुन् ।

जेष्ठ ७, २०८३

न्युज एजेन्सी नेपाल

RSP MP Adhikari demands legal provision to make it mandatory for farmers to receive payment within 15 days

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले किसानहरुको भुक्तानी १५ दिनभित्र अनिवार्य भुक्तानी हुनेगरी आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उखु किसान, दुध किसान लगायतको भुक्तानी वर्षौसम्म पनि हुन नसकिरहेको दृष्टान्त पेश गर्दै सरकारसँग उक्त माग गरेकी हुन् । 

‘हाम्रो कृषि प्रदान देशमा आज किसानको आँशुले माटो भिजिरहेको छ । मकवानपुरका दुध किसानको मात्रै १४ करोड भन्दा बढी भुक्तानी दिन बाँकी छ,' अधिकारीले भनिन्, 'यो समस्या एउटा जिल्लाको मात्रै होइन सभामुख महोदय । देशभरका उखु, दुध, धानलगायतका धेरै उत्पादक किसानहरुको यो साझा समस्या हो । जब एउटा किसानले आफनो पसिनाको मूल्य पाउन महिनौ, वर्षौ कुर्नुपर्छ । तब उसले गाईभैँसीको दाना र छोराछोरीको स्कुलको फि कसरी समयमा तिर्छ ? त्यसैकारण आज ऊर्जावान युवाहरु आफनो उर्वर जमिनलाई बाँझो छाडेर खाडीको मरुभूमि रोज्न बाध्य छन् सभामुख महोदय । किसानको खल्ती रित्तो बनाएर देशमा समृद्धि कदापी ल्याउन सकिँदैन । मुलुकमा खाद्यन्न मात्रै होइन सभामुख महोदय, खाद्य आत्मनिर्भरता चाहिएको छ । अत म सरकारसँग माग गर्दछु–किसानको भुक्तानी १५ दिनभित्र अनिवार्य गर्ने कानुनी ग्यारेन्टी गरियोस् ।’

सांसद अधिकारीले मुलुकमा खाद्य आत्मनिर्भरता चाहिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइन्।

न्युज

Link copied successfully