प्रतिनिधिसभामा विपक्षी दलहरुले गरे वेल घेराउ

बिहीबार बेलुकीको दोस्रो बैठकमा सभामुख डोलप्रसाद अर्यालले विपक्षीको अवरोधबीच प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुनमन्त्रीलाई विधेयक प्रस्तुत गर्न दिएपछि एमाले, नेकपा, राप्रपालगायत दलका सांसद वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका हुन् ।

जेष्ठ ७, २०८३

कान्तिपुर संवाददाता

Opposition parties besiege the House of Representatives

काठमाडौँ — प्रतिनिधिसभामा विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति माग गरेर वेल घेराउ गरेका छन् । 

बिहीबार बेलुकी बसेको दोस्रो बैठकमा सभामुख डोलप्रसाद अर्यालले विपक्षीको अवरोधबीच प्रधानमन्त्री,  गृहमन्त्री, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री वालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री सोबिता गौतमलाई विधेयक प्रस्तुत गर्न दिएपछि एमाले, नेकपा, राप्रपालगायत दलका सांसदहरु वेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका हुन् । कांग्रेस सांसदहरुले भने आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका छन् । 

विपक्षीको नाराबाजीबीच बैठक कार्यसूचीमा प्रवेश गराइएको छ । 

प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै पहिलो बैठकमा पनि विपक्षी दलहरुले विरोध जनाएका थिए । पहिलो बैठकमा विपक्षीको अवरोध नहटेपछि सभामुख अर्यालले १५ मिनेट बैठक स्थगित गरेका थिए । 

बैठकमा विधेयक पेस गर्ने समय आएपछि विपक्षी दलहरूले प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित गराउन सभामुखबाट रुलिङ माग गरेका थिए । प्रतिनिधिसभाको नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्रीलाई संसदमा बोलाउन विपक्षी सांसदले प्रधानमन्त्रीलाई सदनमा बोलाएका हुन् । एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदले नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गराउन सभामुखबाट रुलिङ माग गरेका थिए ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा लेखिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’  

श्रम संस्कृति पार्टीका सचेतक आरेन राईले प्रधानमन्त्रीलाई नियमावलीको यो नियमअनुसार संसदमा बोलाउनका लागि सभामुखबाट रुलिङ माग गरेका थिए । एमालेका सचेतक ऐनबहादुर महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राप्रपा सचेतक खुश्बु ओलीले प्रधानमन्त्रीलाई नियमावलीको व्यवस्था कार्यान्वयन गर्नका लागि सदनमा बोलाउनका लागि रुलिङ माग गरेका थिए । त्यसपछि प्रतिनिधिसभा बैठक स्थगित गरेर सभामुखले प्रधानमन्त्रीलाई भेटेका थिए ।

प्रधानमन्त्रीलाई भेट्न सभामुख प्रधानमन्त्री कार्यालय गएका थिए । सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्रीलाई भेटेपछि सभामुखले राजनीतिक दलका सचेतकहरूसँग छलफल गरेका थिए । 

कान्तिपुर

Link copied successfully