प्रतिनिधिसभाको बिहीबारको बैठकमा विधेयक पेस गर्ने समय आएपछि विपक्षी दलहरूले प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित गराउन सभामुखबाट रुलिङ माग गरेका थिए ।
काठमाडौँ — प्रतिनिधिसभामा विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति माग गरेर अवरोध गरेका छन् । विपक्षी दलहरूले सदन अवरुद्ध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरेर सभामुख डीपी अर्यालले प्रधानमन्त्री शाहलाई भेटेका थिए ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विधेयक पेस गर्ने समय आएपछि विपक्षी दलहरूले प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित गराउन सभामुखबाट रुलिङ माग गरेका थिए ।
प्रतिनिधिसभाको नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्रीलाई संसद्मा बोलाउन विपक्षी सांसदले प्रधानमन्त्रीलाई सदनमा बोलाएका हुन् । एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदले नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गराउन सभामुखबाट रुलिङ माग गरेका थिए ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा लेखिएको छ, ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ ।’
श्रम संस्कृति पार्टीका सचेतक आरेन राईले प्रधानमन्त्रीलाई नियमावलीको यो नियमअनुसार संसद्मा बोलाउनका लागि सभामुखबाट रुलिङ माग गरेका थिए । एमालेका सचेतक ऐनबहादुर महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राप्रपा सचेतक खुश्बु ओलीले प्रधानमन्त्रीलाई नियमावलीको व्यवस्था कार्यान्वयन गर्नका लागि सदनमा बोलाउनका लागि रुलिङ माग गरेका थिए ।
त्यसपछि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित गरेर सभामुखले प्रधानमन्त्रीलाई भेटेका थिए । प्रधानमन्त्रीलाई भेट्न सभामुख प्रधानमन्त्री कार्यालय गएका थिए । सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्रीलाई भेटेपछि सभामुखले राजनीतिक दलका सचेतकहरूसँग छलफल गरिरहेका छन् ।
