अध्यक्ष राईले प्रधानमन्त्री शाहलाई संसद्मा उठेका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन भनि पटक पटक प्रश्न समेत गरे।
What you should know
काठमाडौँ —
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकको शुरुमै बोल्दै उनले प्रधानमन्त्री शाहले संसद्मा आएर जवाफ दिनुपर्नेमा जोड दिए।
‘हाम्रो नियमावलीको नियमको १५ (२) अनुसार नेपाल सरकारको नेतृत्व प्रधानमन्त्रीज्यू सदनमा आएर माननीयहरुले उठाउनु भएका, सांसदज्युहरुले उठाउनुभएका प्रश्नको उत्तर दिनुपर्ने हो या होइन ? म एउटा प्रश्न राख्न चाहन्छु । मैले २०८३ साल १ महिना २८ गते र २९ गते केही प्रश्नहरु राखेका थिए । जो गृह मन्त्रालयसँग सम्बन्धित केही थिए, रक्षा मन्त्रालयसँग सम्बन्धित केही थिए । केही अन्य मन्त्रालयसँग सम्बन्धित प्रश्नहरु थिए । ती प्रश्नहरुको उत्तर प्रधानमन्त्रीले आएर दिनुपर्छ भन्ने म माग गर्दछु,' राईले भने, 'किनभने उहाँले अहिले मन्त्रिपरिषद विस्तार गर्नु भएको छैन । गृह मन्त्रालयको जिम्मा पनि उहाँले लिईराखेको कारणले सुकुम्बासीलगायतका शान्तिसुरक्षासँग सम्बन्धित विषयमा पनि मेरो प्रश्नहरु थिए । र, सीमासँग सम्बन्धित लिपुलेकसँग सम्बन्धित विभिन्न खालको प्रश्नहरु हामीले सोधेका छौ । म लगायत अन्य सांसदज्यूहरुले । रक्षा मन्त्रालय पनि उहाँले सम्हालिरहेको कारणले गर्दाखेरी प्रधानमन्त्रीज्यू संसदमा आएर हामीले उठाएका प्रश्नको जवाफ दिनुपर्छ ।'
उनले कर्तव्य पूरा गर्न नसक्ने प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्दा राम्रो हुने धारणा सुझाव दिए । 'म प्रश्न गर्न चाहन्छु हाम्रो प्रधानमन्त्रीज्यूलाई- उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन ? यो देशमा पार्लियामेन्ट छ कि छैन ? हामी सबैले यो लोकतन्त्र, यो संसदको गरिमालाई हामीले जोगाई राख्नु पर्छ कि पर्दैन ? कर्तव्य पूरा गर्नु पर्छ कि पर्दैन ? म यो प्रश्न गर्न चाहन्छु । यदि उहाँ आफनो कर्तव्य पूरा गर्न सक्नु हुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरी राम्रो ।'
अध्यक्ष राईले प्रधानमन्त्री शाहलाई संसद्मा उठेका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन भनि पटक पटक प्रश्न समेत गरे।
