हर्कराज राईसहित श्रम संस्कृति पार्टीका सांसदलाई व्यवहार सुधार्न सभामुखको चेतावनी

सभामुख डीपी अर्यालले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसहित सांसदहरूलाई संसद् बैठकमा गर्ने व्यवहार सच्याउन चेतावनी दिएका छन् ।

जेष्ठ ६, २०८३

जयसिंह महरा

Speaker warns Labor Culture Party MPs, including Harkaraj Rai, to improve their behavior

What you should know

काठमाडौँ — सभामुख डीपी अर्यालले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसहित सांसदहरूलाई संसद् बैठकमा गर्ने व्यवहार सच्याउन चेतावनी दिएका छन् । प्रतिनिधिसभाका पछिल्ला बैठकमा नियमित रूपमा श्रम संस्कृति पार्टीका सांसदले अभद्र व्यवहार गरेको भन्दै सभामुखले चेतावनी दिएका हुन् । 

श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभाका पछिल्ला बैठक विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर वेलसम्म जाने र आफ्नो कुर्सीबाट उठेर विरोध जनाउने गरेका थिए । सो व्यवहार नियमावलीको व्यवस्था विपरीत भएको भन्दै सभामुखले नियमावलीको व्यवस्था बमोजिम चेतावनी दिएका हुन् ।

'प्रतिनिधिसभाको बैठकको मर्यादा कायम गर्नु सबै सदस्यहरूको कर्तव्य हो । प्रतिनिधिसभा नियमावली २०७९ को नियम २० को खण्ड (झ) बमोजिम सभाको मर्यादा कायम राख्न म सदस्यहरूलाई आग्रह गर्दछु । साथै सदस्यहरूलाई नियमावलीको नियम ३० मा रहेको व्यवस्थातर्फ पनि म ध्यानाकर्षण गराउँदछु,' सभामुखले भने ।

प्रतिनिधिसभा नियमावलीको नियम ३० मा बैठकमा सुव्यवस्था कायम गर्न सभामुखले चेतावनी दिनसक्ने व्यवस्था छ । 'बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्न पर्नेछ,' नियम ३० मा लेखिएको छ ।

सभामुख अर्यालले श्रम संस्कृति पार्टीका अध्यक्ष राईसहित सांसदलाई नियमावलीको सोही नियमअनुसार चेतावनी दिँदै भने, 'माननीय सदस्य हर्कराज राईसहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादाविपरीत संसद्मा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ३० बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु ।'

सभामुखको चेतावनीपछि श्रम संस्कृति पार्टीका अध्यक्ष राईले प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि संसद्मा बोलाउनका लागि रुलिङ गर्न माग गरेका थिए । 'हामीले बारम्बार प्रश्न उठाएका छौं । हाम्रो आफ्नो व्यक्तिगत प्रश्न नभएर जनताका प्रश्न सरकारका सम्बन्धित मन्त्रीहरूलाई सोध्न चाहेका छौं । सीमा देखि लिएर महंगी नियन्त्रण, सहकारी पीडितलाई फिर्ता गर्दै गरेको पैसाको स्रोत के हो ? कहाँबाट फिर्ता गर्दैछौ ? भन्ने कुराहरू यस्ता महत्त्वपूर्ण विषयहरूमा हामीले थुप्रै प्रश्न राख्न खोजेका छौं । सुकुम्बासीका प्रश्नहरू राख्न खोजेका छौं तर सम्बन्धित मन्त्रीहरू सदनमा आउँदै नआउने, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नि नआउने, छलफल गर्दा नि नआउने, उत्तर दिनका लागि पनि आउनुपर्ने मान्छे नआउने, अरू मान्छे आउने,' राईले माग राखे, 'यो तरिकाले हाम्रो नियमावलीको नियम १५ को उपनियम २ लागु भएको देखिँदैन । त्यसो भएकाले हाम्रो जोडदार माग छ, यो संसद्प्रति सरकार जवाफदेही हुनैपर्छ । जनताप्रति सरकार जवाफदेही बन्नैपर्छ । जनताकै भोट लिएर हामी आएका छौं । जनताको प्रश्न राख्ने, सोधिने सदन हो, त्यो सदनमा सरकार नआउने, सरकारको प्रतिनिधि नआउनुले के जनाउँछ ?'

आफ्नो पार्टीका सांसदका प्रश्न पनि रहेकाले सभामुखले रुलिङ गरेर प्रधानमन्त्री र मन्त्रीहरू बोलाउनुपर्ने अध्यक्ष राईको माग थियो । 'यहाँले कडा तरिकाले रुलिङ गरेर सरकारको पक्षका मानिसहरूलाई पनि लिएर यहाँ प्रश्नोत्तर गर्ने । पाँच-छ वटा प्रश्न हामी सोध्न चाहन्छौं । ती प्रश्नको उत्तर जनतालाई दिनुपर्ने बाध्यता र कर्तव्य हो । त्यो कर्तव्यदेखि भाग्ने जुन चलन छ त्यसप्रति हाम्रो घोर आपत्ति छ । सरकारले सदनप्रति जवाफदेही नभएको महसुस गरेका छौं । त्यसो भएकाले संसदीय मर्यादा अन्तर्गत प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरू यही सदनका सदस्य हुन्,' राईले भने । 

सरकारको नेतृत्व र मन्त्रीहरू संसद्मा नआएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्षसहितका सांसदले संसद् बैठक नै बहिष्कार गर्ने गरेको छ । 

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully