श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार संसद्प्रति जवाफदेही नभएको भन्दै प्रतिनिधि सभामा आपत्ति प्रकट गरेका छन्।
काठमाडौँ —
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार संसद्प्रति जवाफदेही नभएको भन्दै प्रतिनिधि सभामा आपत्ति प्रकट गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले मन्त्रीहरूको सदनमा अनुपस्थिति र सांसदहरूले उठाएका प्रश्नको बेवास्ता गरिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका हुन् । अधयक्ष राईले प्रतिनिधि सभा नियमावलीको नियम १५ को उपनियम २ को पालना नभएकोतर्फ् सभामुखको ध्यान आकृष्ट गराए।
‘हामीले व्यक्तिगत स्वार्थका लागि नभई जनताका साझा समस्याहरू सदनमा उठाएका हौँ ,' राईले भने, 'सीमा विवाद, महँगी नियन्त्रण, सहकारी पीडितको वचत फिर्ताको स्रोत र सुकुमवासी व्यवस्थापन जस्ता संवेदनशील विषयमा सरकारले जवाफ दिनुपर्छ । तर, नीति तथा कार्यक्रम र अन्य महत्वपूर्ण छलफलमा समेत सम्बन्धित मन्त्रीहरू अनुपस्थित हुनु खेदजनक छ ।’
संसदीय मर्यादा कायम राख्न र मन्त्रिपरिषद्का सदस्यहरूलाई प्रश्नोत्तर सत्रमा अनिवार्य सहभागी गराउन राईले जोडदार माग गरे । मन्त्रीहरू स्वयं उपस्थित नभई अन्य प्रतिनिधि पठाइनुले नियमावलीको ठाडो उल्लङ्घन भएको उनको भनाइ छ।
