एमालेले भन्यो- सुकुमवासीलाई प्रतिपरिवार १५ हजार राहतले पुग्दैन

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उक्त पार्टीका सांसद गुरुप्रसाद बरालले उनीहरूले जीवन धान्न पनि नपुग्ने रकम भएकाले उक्त रकम बढाउन सरकारसँग माग गरे ।

जेष्ठ ६, २०८३

न्युज एजेन्सी नेपाल

UML says - Rs 15,000 relief per family is not enough for Sukum residents

काठमाडौँ — प्रतिपक्ष दल नेकपा (एमाले)ले घरबासविहीन अवस्थामा पुगेका सुकुम्बासीहरुका प्रतिघरपरिवारलाई जेठ, असार र साउन महिनाका लागि १५/१५ हजारका दरले राहत दिने सरकारको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेको छ । 

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उक्त पार्टीका सांसद गुरुप्रसाद बरालले उनीहरुले जीवन धान्न पनि नपुग्ने रकम भएकाले उक्त रकम बढाउन सरकारसँग माग गरे । उनले अस्थायी बसोवासका लागि उनीहरुका प्रतिघरपरिवारलाई २५ हजारका दरले राहत दिने सरकारको निर्णयमा पनि आपत्ति जनाए ।

‘हिजोमात्रै नेपाल सरकार एउटा गम्भिर र त्रुटीपूर्ण निर्णय गरेको छ । सरकार विना तयारी भरपर्दो बसोवासको व्यवस्था नगरी सुकुम्बासीहरुलाई आफनो बसोबास गरिरहेको ठाउँबाट बाहिर निकालेको छ,' बरालले भने, 'अनि सरकार भन्छ, यो जेठ, असार र साउन तीन महिना तिमीहरुले १५/१५ हजार रुपैयाँ पाउनेछौँ । अर्थात ५ जनाको परिवार हरेक सदस्यलाई ३ हजार अर्को अर्थमा भन्नेहो भने महिनाको एक सय रुपैयाँले दिनको एक सय रुपैयाँले कसरी एउटा परिवार काठमाडौंको आसपासमा बाँच्न सक्छ सभामुख महोदय ।'

'यो सुकुम्बासीमाथि गरिएको अत्यन्तै ठूलो अमानवीय हमला हो । अर्कोतर्फ सरकार भन्दैछ–एक मुष्ट २५ हजार दिन्छु अस्थायी बसोबासका लागि । सभामुख महोदय, अस्थायी बसोबास त उनीहरु जहाँ बसेका थिए, त्यही थियो । स्थायी बसोबासका लागि अव सरकारले नयाँ व्यवस्था गर्नुपर्नेमा उसले अहिले अस्थायी बसोबास गरेको ठाउँबाट बाहिर निकालेको छ । होल्डिङ सेन्टरहरुमा उनीहरु अत्यन्तै अमानवीय ढंगले बाँचिरहेका छन्,' उनले थपे।

न्युज

Link copied successfully