सोमबार भक्तपुरमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापले सुर्खेत–दैलेख सडकमार्गको स्तरोन्नति हुन नसक्दा पेट्रोलियम उत्खनन कार्य प्रभावित भएको बताइन्।
भक्तपुर — कांग्रेसकी प्रमुख सचेतक बासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम उत्खनन परियोजनामा सरकारले ढिलासुस्ती गरेको आरोप लगाएकी छन्।
सोमबार भक्तपुरमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले सुर्खेत–दैलेख सडकमार्गको स्तरोन्नति हुन नसक्दा पेट्रोलियम उत्खनन कार्य प्रभावित भएको बताइन्। देशकै आर्थिक कायापलट गर्न सक्ने तथा ५० वर्षभन्दा बढी समय नेपाली उपभोक्तालाई उपयोगी हुने सम्भावना बोकेको यो महत्त्वाकांक्षी परियोजनालाई सरकारले तीव्र गतिमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।
थापाले संसद्मा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिनुले संविधानको मर्ममाथि चोट पुगेको टिप्पणी गरिन्। नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको अनुपस्थितिले सरकारको जिम्मेवारीबोध कमजोर देखिएको उनको आरोप थियो।
उनले संविधानविपरीत हुने कुनै पनि गतिविधिविरुद्ध कांग्रेस सशक्त रूपमा उभिने र संविधानको रक्षाका लागि डटेर लड्ने बताइन्। सरकारको नीति तथा कार्यक्रममा रहेका सकारात्मक पक्षलाई समर्थन गर्दै गलत विषयमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको पनि थापाको दाबी थियो।
कांग्रेस विभाजनको संघारमा पुगेको भन्ने चर्चा असत्य रहेको बताउँदै थापाले कांग्रेस र प्रजातन्त्रको सौन्दर्य नै गुट–उपगुट तथा आन्तरिक मन्थन भएको बताइन्। महाधिवेशन नजिकिँदै जाँदा यस्तो गतिविधि स्वाभाविक रहेको उल्लेख गर्दै उनले पार्टी सभापति र शीर्ष नेताहरूले आवश्यक समन्वय गरेर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने विश्वास व्यक्त गरिन्।
