सांसद कार्कीबारे संसद्‌मा प्रश्न उठ्यो, रास्वपाले छानबिन थाल्यो

रास्वपाका महामन्त्री तथा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले भने- ‘यो विषय बाहिर आइसकेपछि पार्टीको अनुशासन आयोगले उहाँसँग सो विषयमा जानकारी लिइराखेको छ । आन्तरिक रूपमा पार्टीको अनुशासन आयोगले त्यसबारेमा छानबिन गरिरहेको हो ।’

जेष्ठ ५, २०८३

जयसिंह महरा

Questions raised in Parliament about MP Karki, RSP launches investigation

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्णकुमार कार्कीले विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषयमा प्रतिनिधिसभामा प्रश्न उठेको छ । मोरङ-२ बाट निर्वाचित सांसद कार्कीले नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषयमा प्रतिनिधिसभाको मंगलबारको बैठकमा तीन जना महिला सांसदले प्रश्न उठाएका छन् । प्रमुख प्रतिपक्षी, एमाले र नेकपाका सांसदले सरकारको नेतृत्व गरिरहेको रास्वपाका सांसद कार्कीमाथि प्रश्न उठाएका हुन् ।  

कांग्रेस सांसद निनुकुमारी कर्णले एक विदेशी महिला सांसदबाट गर्भवती भएकी र अहिले न्याय खोजिरहेको भन्दै प्रश्न गरिन् । ‘एक नाइजेरियन महिलाले आफू गर्भवती भएको अवस्थामा र सम्बन्धित सांसद सम्पर्कविहीन भएको भन्दै सडकमा न्याय खोजिरहेकी छिन् । एउटा विदेशी नागरिक महिलालाई प्रेमजालमा फसाउने, भावनात्मक ब्ल्याकमेल र जालझेलमा फसाएर अलपत्र पार्ने जनप्रतिनिधिले आफ्नो राष्ट्रको नागरिकलाई कसरी सुरक्षा दिन सक्छ ?,’ सांसद कर्णले प्रश्न गरिन् ।

सांसद पदमा भए पनि कानुन समान रहेको एमाले सांसद साजिदा खातुन सिद्धिकीको भनाइ थियो । उनले सांसद कार्की नामै लिएर उक्त विषयमा छानबिन गर्नका लागि सभामुखसँग माग गरेकी थिइन् । ‘अहिले व्यापक समाचार आइरहेको छ मोरङ क्षेत्र नम्बर २ का माननीय सदस्य कृष्ण कार्कीले नाइजेरियाकी २६ वर्षीया युवती रीता आजुकोलाई गर्भवती बनाएर अलपत्र बनाएको भन्ने । यसले सिंगो सदनलाई लज्जित बनाएको छ । यो राष्ट्रिय मात्रै, होइन अन्तर्राष्ट्रिय समाचार पनि आइसकेको छ,’ उक्त घटनाले सबै सांसदको आलोचना भइरहेको उल्लेख गर्दै सिद्धिकीको माग थियो, ‘एउटा सांसदका कारणले हामी सबै जवाफदेहितामा उभिएका छौं । यसको छिटोभन्दा छिटो के हो पत्ता लगाइयोस् ।’

एमाले सांसदले झैं कांग्रेस सांसद कर्णको पनि माग थियो, ‘सभामुखमार्फत यस विषयमा सत्यतथ्य खोजेर संसदलाई जानकारी गराउन माग गर्दछु ।’ एमाले सांसद सिद्धिकीले विगतमा मानवअधिकारका क्षेत्रमा काम गरेका कारणले ती महिलाका विषयमा आफूलाई विभिन्न व्यक्तिले फोनमार्फत न्यायका लागि माग गरेको पनि सदनलाई जानकारी गराइन् । 

नेकपा सांसद पार्वती विकले विदेशी महिलालाई गर्भवती बनाएर सत्तारुढ दलका सांसद बेपत्ता भएको दाबी गरिन् । प्रतिनिधिसभा बैठकमा उनले यस्ता घटनाले नेपालप्रति अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो सन्देश नजाने धारणा राखिन् ।

‘एकजना सत्तापक्षका सांसद एक जना नाइजेरियन महिलालाई गर्भवती बनाएर माननीयजी बेपत्ता भएको सामाजिक संजालमा यत्रतत्र सर्वत्र छ । यो कुराले असाध्यै पीडादायी अवस्था सिर्जना गरेको छ । अन्तर्राष्ट्रिय जगतमा नेपालीलाई बुझ्ने तरिका के हो ? हाम्रो राष्ट्रियताको विषय विदेशीहरूले हाम्रो देशलाई कसरी हेर्छन् र हामीलाई कसरी बुझ्छन् भन्ने धकुरा मैले बुझिराखेको छु,’ सांसद विकले भनिन्, ‘यथार्थ घटना के हो ? यो सदन स्पष्ट हुन चाहन्छ । हावाका भरमा कुरा गरिएको हो भने पनि हाम्रो राष्ट्रियताका लागि त्यो कुरा सैह्य हुँदैन, यदी यथार्थ हो भने सम्बन्धित माननीयलाई सिधैं कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

संसददेखि सामाजिक संजालसम्म सांसद कार्कीको विषयमा प्रश्न उठेपछि रास्वपाले भने आन्तरिक रूपमा छानतबिन थालेको छ । रास्वपा मुख्य सचेतकसमेत रहेका महामन्त्री कबिन्द्र बुर्लाकोटीले सांसद कार्कीका विषयमा पार्टीको अनुशासन आयोगले छानबिन थालेको जानकारी दिए । ‘यो विषय बाहिर आइसकेपछाडि पार्टीको अनुशासन आयोगले उहाँसँग सो विषयमा जानकारी लिइराखेको छ । आन्तरिक रूपमा पार्टीको अनुशासन आयोगले त्यसबारेमा छानबिन गरिरहेको हो,’ बुर्लाकोटीले कान्तिपुरसँग भने, ‘पार्टीको छानबिनले सिफारिस गरेपछि आवश्यक परेमा अर्को चरणमा प्रवेश गर्छ । पार्टीको रिपोर्टले कुन तहको कुरा सिफारिस गर्छ त्यो अनुसार हुन्छ ।’ 

सांसद कार्कीका विषयमा सार्वजनिक रूपमा कुराहरू आएपछि संसद्मा प्रश्न उठ्नु स्वाभाविक रहेको मुख्यसचेतक बुर्लाकोटीको भनाइ थियो । ‘सदनमा कुरा उठ्नु स्वाभाविक हो,’ उनले भने । 

एमाले सांसद साजिदा खातुन सिद्धिकीले रास्वपा सांसद कार्कीका विषयमा यथार्थ के हो भनेर प्रश्न गरेपछि सभामुख डीपी अर्यालले संसदीय छानबिन हुने संकेत गरेका छन् । सभामुख अर्यालले भनेका थिए, ‘माननीय सदस्यले उठाउनुभएको विषयमा मेरो ध्यानाकर्षण भएको छ र त्यसै (प्रतिनिधिसभा नियमावली)को नियम २२० पनि छ, त्यसमा ध्यानाकर्षण गराए ।’ 

प्रतिनिधिसभा नियमावलीको नियम २२० मा आचरण अनुगमन समितिको व्यवस्था छ । जसमा प्रतिनिधिसभामा एक आचरण अनुगमन समिति रहने व्यवस्था गरिएको छ । यो समितिको सभापति सभामुख र उपसभापति उपसभामुख हुने व्यवस्था छ । विपक्षी दलको नेतासँगै कार्यव्यवस्था परामर्श समितिको परामर्शमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलीय प्रतिनिधित्वको आधारमा सभामुखद्वारा मनोनीत बढीमा १२ जना सदस्य रहने नियमावलीको व्यवस्था छ । संघीय संसद्का महासचिवले यो समितिको सचिव भई काम गर्ने व्यवस्था छ । 

सभामुख अर्यालले सांसद कार्कीको आचरणको विषय संसद्मा उठेकाले उक्त समितिले काम गर्ने संकेत गरेका हुन् । यो समितिले कुनै सांसदले आचारसंहिताको उल्लंघन गरेको भनी सार्वजनिक रूपमा उठेका प्रश्न वा कसैले समितिसमक्ष दिएको सूचनाको आधारमा आवश्यक छानबिन गर्ने नियमावलीको व्यवस्था छ । छानबिनका क्रममा 'आचारणका सम्बन्धमा उठेका प्रश्नको सम्बन्धमा सम्बन्धित सदस्य तथा अन्य व्यक्तिसँग आवश्यक जानकारी लिने, आचारणका सम्बन्धमा प्रश्न उठाउने व्यक्ति, संस्था वा सञ्चार माध्यमसँग आवश्यक जानकारी लिने' अधिकार यो समितिलाई नियमावलीले दिएको छ । 

छानबिन प्रतिवेदन तयार पारेर समितिले प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गर्ने व्यवस्था नियमावलीले गरेको छ ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully