अर्थमन्त्री नआएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

सांसदको निरन्तर विरोध र मन्त्रीको अनुपस्थितिका कारण सदनमा गतिरोध सिर्जना भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे ।

जेष्ठ ५, २०८३

कान्तिपुर संवाददाता

House of Representatives meeting adjourned for 15 minutes after Finance Minister fails to arrive

काठमाडौँ — प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री अनुपस्थित भएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ । 

सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्न रोस्ट्रममा पुगेका एमालेका सांसद राजेन्द्रकुमार राईले सम्बन्धित मन्त्रीको अनुपस्थितिमा छलफल अगाडि नबढाउने अडान लिएपछि सदनको कामकारबाही प्रभावित भएको हो ।

सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री आउँदै गरेको र छलफल अगाडि बढाउन पटक–पटक आग्रह गरे पनि सांसद राईले आफ्नो अडान कायम राखे । उनले प्रधानमन्त्री र अर्थमन्त्री सदनमा उपस्थित नहुने प्रवृत्तिको आलोचना गर्दै सरकार सदनप्रति जवाफदेही हुनुपर्नेमा जोड दिए । सांसद राईले रोस्ट्रमबाट सम्बोधन गर्दै विनियोजन विधेयक प्रस्तुत गर्ने मन्त्री नै सदनमा उपस्थित नहुनु संसदीय मर्यादाविपरीत भएको उल्लेख गरे । ‘जसले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्नुभयो, उहाँ नै नहुँदा कसरी छलफल अगाडि बढ्न सक्छ ? यो थिति र परम्पराविपरीतको कार्य हो,’ उनले भने । 

सांसदको निरन्तर विरोध र मन्त्रीको अनुपस्थितिका कारण सदनमा गतिरोध सिर्जना भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे । यसअघि सांसद राईले सरकारले सदनलाई बेवास्ता गरेको भन्दै प्रतिपक्षललाई सदन सञ्चालन गर्न दिन आग्रह गरेका थिए । 

त्यसअघि रास्वपाकै सांसद अमरेशकुमार सिंहले पनि विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै आपत्ति जनाएका थिए । 

कान्तिपुर

Link copied successfully