पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यतालाई निरन्तरता दिने एमालेको निर्णय

अध्यक्ष केपी शर्मा ओली निवास, गुन्डुमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

जेष्ठ ४, २०८३

गंगा बीसी

UML decides to continue former President Bhandari's party membership

काठमाडौँ — एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यतालाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार अध्यक्ष केपी शर्मा ओली निवास, गुन्डुमा बसेको केन्द्रीय सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । 

‘आज एउटा महत्त्वपूर्ण निर्णय भएको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सदस्यता दिने निर्णय भएको छ,’ उनले भने ।  

गत वर्ष साउन ५ र ६ मा बसेको केन्द्रीय कमिटीले भण्डारीको सदस्यता ‘पेन्डिङ’ राखेको थियो । त्यसपछि एमालेमा विवाद चुलिएको थियो ।

साउन ८ मा भण्डारीले पत्रकार सम्मेलन गरी आफूले सदस्यता नवीकरण गरिसकेकाले खोस्न नसक्ने भन्दै असन्तुष्टि जनाएकी थिइन् । त्यसको एक वर्षअघि नै केन्द्रीय कार्यलय च्यासल गएर भण्डारीले सदस्यता नवीकरण गरे पनि केन्द्रीय कमिटीले त्यसलाई मान्यता दिएको थिएन । 

गत वर्ष साउन ५ र ६ को केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन नहुने निष्कर्ष निकालेको थियो । राष्ट्रपतिको भूमिका अत्यन्त सम्मानित, गरिमायुक्त र ऐतिहासिक महत्त्वको भएकाले दलीय आबद्धताबाट पूर्ण रूपमा मुक्त रहेकोले दलीय राजनीतिमा फर्कने निर्णय संविधानको मर्म विपरीत भएको निष्कर्ष निकालेको थियो ।

गंगा

Link copied successfully