पार्टी उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा बसेको बैठकले भूमि, विपद्, शिक्षा, डिजिटल सुशासन, मानसिक स्वास्थ्यलगायतका विषयमा उपसमिति गठन गर्ने निर्णय गरेको छ।
What you should know
काठमाडौँ — कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न समसामयिक तथा नीतिगत विषयमा केन्द्रित १२ वटा उपसमिति गठन गरेको छ ।
प्रतिष्ठानका प्रमुख तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बसेको बैठकले भूमि व्यवस्था, विपद् व्यवस्थापन, मानसिक स्वास्थ्य, डिजिटल सुशासन, निर्वाचन प्रणाली सुधार, पूर्वाधार विकास, शिक्षा, उद्यमशीलतालगायतका विषयमा काम गर्नेगरी उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकले भूमि व्यवस्था विशेष अभियान उपसमितिको संयोजन गोपाल दहितलाई दिएको छ । उक्त उपसमितिले सुकुमवासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानका लागि साझा दृष्टिकोण तयार गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै, विपद् व्यवस्थापन उपसमितिको संयोजक मानबहादुर थापा, मानसिक स्वास्थ्य सचेतना अभियान उपसमितिको संयोजक मोहना अन्सारी तथा सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमितिको संयोजक इन्जिनियर दिपेश विष्टलाई बनाइएको छ ।
निर्वाचन प्रणाली सुधारसम्बन्धी अवधारणा, संवाद तथा समन्वय उपसमितिको संयोजन जनक चटौतले गर्नेछन् भने पूर्वाधार विकास अवधारणा, संवाद तथा दृष्टि उपसमितिको जिम्मेवारी इन्जिनियर अमृत ज्ञवालीलाई दिइएको छ । उक्त उपसमितिले पूँजीगत बजेट खर्च प्रणाली सुधार तथा पूर्वाधार निर्माणको गति बढाउन आवश्यक नीति तथा योजना तर्जुमामा सुझाव दिने जनाइएको छ ।
यस्तै, उद्यमशीलता, नवप्रवर्तन तथा रोजगार उपसमितिको संयोजक खगेन्द्र आचार्य, शिक्षा तथा शिक्षालय नीति एवं दृष्टि उपसमितिको संयोजक डा. कृष्णप्रसाद पौडेल तथा बी.पी. ज्ञान केन्द्र उपसमितिको संयोजक प्रकाश लामिछानेलाई बनाइएको छ । बी.पी. ज्ञान केन्द्र उपसमितिले आगलागीबाट क्षति पुगेको केन्द्रीय पुस्तकालयलाई पुनः व्यवस्थापन गरी ‘बी.पी. विचार स्कूल’ का रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।
बैठकले जातीय विभेदविरुद्ध सचेतना अभियान उपसमितिको संयोजक एलिजा ढकाल, डिजिटल सचेतना तथा तथ्य जाँच उपसमितिको संयोजक प्रकृति भट्टराई तथा ‘ग्रीन टेबल’ उपसमितिको संयोजक कञ्चन झालाई तोकेको छ । ‘ग्रीन टेबल’ उपसमितिले नीतिगत तथा समसामयिक विषयमा केन्द्रीय कार्यालयमा नियमित अन्तरसंवाद समन्वय गर्ने जनाइएको छ ।
सबै उपसमितिलाई आगामी बैठकमा प्रारम्भिक कार्यखाका पेश गर्न निर्देशन दिइएको छ । यसैबीच, प्रतिष्ठानले आन्तरिक आचारसंहिता निर्माणका लागि उपप्रमुख मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
