प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारले लोकतान्त्रिक शासन प्रणालीभन्दा फरक अभ्यास गर्न खोजेको हो कि भन्ने प्रश्न उठेको बताए।
काठमाडौँ — नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र साहले संसद् र संविधानको अवमूल्यन गरेको आरोप लगाएको छ ।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारले लोकतान्त्रिक शासन प्रणालीभन्दा फरक अभ्यास गर्न खोजेको हो कि भन्ने प्रश्न उठेको बताए। ‘संविधानले नेपालको शासकीय स्वरुप बहुलबादमा बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतान्त्रत्मक संसदीय शासनप्रणाली हुनेछ भनेको छ,' महरको प्रश्न छ, 'यहाँ एउटा प्रश्न जबरजस्त उठिरहेको छ, अहिलेको सरकारले कुन चाँही शासन प्रणालीलाई अबलम्बन गरिरहेको छ ? संविधानमा व्यवस्था भएबमोजिमको शासन व्यवस्थालाई अवलम्बन गरिरहेको हो की अरु कुनै शासन प्रणाली, अरु कुनै तन्त्र विकास गरिरहेको हो ?'
'बजारमा एउटा कुरा छ, प्रधानमन्त्री वालेन्द्र साहले लोकतन्त्रलाई भन्दा पनि बालेनतन्त्रको विकास गर्न खोज्नुभएको हो की ? भन्ने आम जिज्ञासा बढिरहेको छ । यो किन भने उहाँले पटक पटक संसदलाई उपेक्षा गर्नुभएको छ । पटक पटक संसदको हुर्मत लिने, अपमान गर्ने काम गर्नुभएको छ,' उनले थपे।
महरले सरकारलाई सदन र संविधानप्रति जवाफदेही हुन आग्रह गरे। जनताका प्रश्नहरुको उत्तर प्रधानमन्त्रीले दिनुपर्ने उनको भनाई छ । उनले प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्नेमा जोड दिए।
