नीति तथा कार्यक्रममा समाजवादउन्मुख अर्थतन्त्रको स्पष्ट गन्तव्य हुनुपर्छ: नेकपा प्रमुख सचेतक दुलाल

बिहीबार प्रतिनिधि सभा बैठकमा सम्बोधनका क्रममा उनले यसको वैचारिक धरातल र कार्यक्रमिक आधार स्पष्ट हुनुपर्नेमा जोड दिए ।

वैशाख ३१, २०८३

न्युज एजेन्सी नेपाल

Policies and programs should have a clear destination for a socialist-oriented economy: NCP Chief Whip Dulal

What you should know

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले नीति तथा कार्यक्रमले संविधानको मर्मअनुसार समाजवाद उन्मुख अर्थतन्त्रको स्पष्ट राजनीतिक गन्तव्य बोक्नुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा सम्बोधनका क्रममा उनले सुशासन, सार्वजनिक सेवा प्रवाह र समन्यायिक वितरणमार्फत् समृद्ध राष्ट्र निर्माण गर्ने सरकारको लक्ष्य सकारात्मक भएपनि यसको वैचारिक धरातल र कार्यक्रमिक आधार स्पष्ट हुनुपर्नेमा जोड दिए । 

उनले संविधानले मार्गनिर्देश गरेको समानुपातिक र समावेशी सिद्धान्तमा आधारित समतामूलक समाज निर्माणको सङ्कल्प नीति तथा कार्यक्रममा ओझेलमा परेको टिप्पणी समेत गरे । सरकारले १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने र औसत ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने जस्ता ल्याएका कार्यक्रमहरू आकर्षक भएपनि तिनलाई पूरा गर्ने ठोस आधार नदेखिएको दुलालको भनाइ छ । मुख्य सचेतक दुलालले मुलुकको वन क्षेत्र र खनिज सम्पदाको उपयोगमा सरकारको ध्यान नगएकोप्रति ध्यानाकर्षण गराउनु भयो । 

कार्बन ट्रेडिङ जस्ता बाह्य अवधारणाभन्दा स्वदेशमै रहेका युरेनियम, ग्रेनाइट, मार्बल, फलाम र पेट्रोलियम जस्ता खनिज स्रोतको उत्खनन र उपयोगले राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने उनले तर्क गरे । आन्तरिक उत्पादन र निर्यातलाई प्राथमिकता नदिई स्थिर अर्थतन्त्र निर्माण हुन नसक्ने उनको दाबी छ । 

‘यी नारालाई सहयोग गर्ने विषयगत कार्यक्रम पर्याप्त छैनन् । सामान्य कानूनी र संरचनागत सुधारले मात्र यति ठूला लक्ष्य प्राप्ति सम्भव छैन,' दुलालले भने।

कृषि क्षेत्रमा बाँदर र बँदेल जस्ता वन्यजन्तुले पुर्‍याउने क्षतिको क्षतिपूर्ति र बीमाको व्यवस्था गर्नुपर्ने उनको माग छ । यस्ता वन्यजन्तु नियन्त्रणका लागि कानुनी व्यवस्था गरी किसानलाई खेतीतर्फ प्रोत्साहित गर्नुपर्ने उनले प्रस्ताव गरे।

न्युज

Link copied successfully