प्रधानमन्त्रीकै नीति तथा कार्यक्रम भए पनि उहाँको उपस्थिति र स्वामित्वमा कमी देखियो : पुन
काठमाडौँ — नेकपा सांसद वर्षमान पुनले सरकारले प्रस्तु गरेको आगामी आर्थिक वर्ष २०८३–२०८४ को नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र र दिशा समात्न नसकेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद पुनले उक्त कार्यक्रम यथास्थितिवादी भएको र यसले जनअपेक्षा सम्बोधन गर्न नसक्ने आशङ्का व्यक्त गरेका हुन् ।
सांसद पुनले नीति तथा कार्यक्रममाथि छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको प्रति असन्तुष्टि व्यक्त गरे । विगतमा कम्तीमा पाँच दिनसम्म छलफल हुने र त्यसपछि प्रि–बजेट छलफलका आधारमा बजेट निर्माण हुने परम्परा रहेकोमा यसपटक समय असाध्यै न्यून पारिएको उनको भनाइ थियो । प्रधानमन्त्रीले संसद्मा प्रतिपक्षी दलका नेताहरूको प्रश्नको सामना गर्दै आफ्ना कार्यक्रमको औचित्य पुष्टि गर्नुपर्नेमा उनले जोड दिए ।
दुई तिहाइ नजिकको समर्थन प्राप्त सरकारसँग जनताको उच्च आकाङ्क्क्षा रहेको स्मरण गराउँदै सांसद पुनले नीति तथा कार्यक्रम र सत्तारुढ दलको चुनावी प्रतिवद्धताबीच तादात्म्यता नदेखिएको उल्लेख गरे ।
‘प्रधानमन्त्रीकै नीति तथा कार्यक्रम भए पनि उहाँको उपस्थिति र स्वामित्वमा कमी देखियो । राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव आफैंले प्रस्तुत गरेर पुनः आफैंले समर्थन नगर्ने जस्तो नयाँ र अनौठो अभ्यास संसद्मा देखिएको छ,’ उनले भने ।
