महङ्गी नियन्त्रण सरकारको प्राथमिकतामै परेन : खुश्बु ओली

प्रधानमन्त्री आफै कला, संगीत क्षेत्रका भए पनि नीति तथा कार्यक्रमले नछोएका कारण 'कपी पेस्ट' को आशंका गरिन् ।

वैशाख ३१, २०८३

कान्तिपुर संवाददाता

Inflation control not a government priority: Khushbu Oli

What you should know

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले महङ्गी नियन्त्रणलाई सरकारको प्राथमिकतामा नराखेको बताएकी छन् । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा महङ्गी नियन्त्रणले नीति तथा कार्यक्रममा कुनै ठाउँ नपाएको देख्दा सरकारले प्राथमिकतामा नराखेको प्रष्ट हुने उनको आरोप छ ।   

यस्तै, उनले नीति तथा कार्यक्रम प्रधानमन्त्रीको नभएर अरु कतैबाट ल्याएकाे जस्तो लागेको पनि बताइन् । प्रधानमन्त्री आफै कला, संगीत क्षेत्रका भए पनि नीति तथा कार्यक्रमले नछोएका कारण 'कपी पेस्ट' को आशंका गरिन् । नीति तथा कार्यक्रमले कला, संगीत, चलचित्रलगायत विषय नछोएको उनको भनाइ छ ।

उनले सरकारले प्रस्तुत गरेका हजारौं मेगावाट विद्युत् उत्पादन, रोजगार दशक, एआईमा आधारित अर्थतन्त्र र हरित अर्थतन्त्रजस्ता योजनाहरू सुन्नमा राम्रो सुनिए पनि त्यसको सफल कार्यान्वयनमा आशंका व्यक्त गरिन् । ओलीले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक आधारभुत संरचनाबारे पर्याप्त छलफल नभएको बताइन् । उनले यो दस्तावेज पुरानै सरकारको कार्यक्रममा टेकेर थोरै मात्र नयाँ कुरा समेटिएको र सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै मौलिक दृष्टिकोण यसमा प्रतिबिम्बित हुन नसकेको दाबी गरिन् । नीति तथा कार्यक्रमको प्रभावकारी अनुगमनका लागि उनले ‘राष्ट्रिय कार्यान्वयन एकाइ’ (नेशनल डेलिभरी युनिट) स्थापना गर्न, त्रैमासिक संसदीय प्रगति प्रतिवेदन पेस गर्न र परिणाममा आधारित बजेट प्रणाली तथा परियोजना ड्यासबोर्ड कार्यान्वयनमा ल्याउन सरकारलाई सुझाव दिइन् । 

उनले भनिन्, ‘कुन निकायले कार्यक्रम कार्यान्वयन गर्ने, बजेट विनियोजनको प्रक्रिया के हुने र लक्ष्य पूरा नभए कसले जिम्मेवारी लिने भन्ने प्रश्नको उत्तर दस्तावेजमा छैन । यसले सरकारको राजनीतिक इच्छाशक्ति र साहसको अभावलाई प्रष्ट पार्छ ।’

कान्तिपुर

Link copied successfully