१९ जनाको मनोनयनले कांग्रेसको बृहत्तर एकतामा ठेस पुग्यो : कोइराला
काठमाडौँ — कांग्रेसको केन्द्रीय कार्यसमिति विस्तारपछि नेता शेखर कोइरालाले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । सभापति गगन थापाले आइतबार १९ जना केन्द्रीय सदस्य मनोनयन गरेपछि कोइरालाले परामर्शबिनै गरिएको निर्णयले पार्टी एकतामा असर पुगेको बताएका हुन् ।
कोइरालाले सोमबार सार्वजनिक धारणामार्फत ‘पार्टीको बृहत्तर एकतामा ठेस पुगेको’ टिप्पणी गर्दै कांग्रेसभित्र सामूहिक भावना र साझा विचार कमजोर बन्दै गएको बताएका छन् । ‘हिजो वैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ,’ उनले भनेका छन् ।
उनले कांग्रेसको समग्र एकताबिनै राष्ट्रिय राजनीतिमा पार्टीले प्रभावकारी भूमिका खेल्न नसक्ने बताएका छन् । विगतको निर्वाचन परिणामले कांग्रेसलाई गम्भीर शिक्षा दिएको उल्लेख गर्दै उनले विभाजित कांग्रेसले नागरिकको भरोसा गुमाउने खतरा रहेको बताए।
कोइरालाले आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई कांग्रेसका लागि ‘निर्णायक परीक्षा’ का रूपमा चित्रण गरेका छन् । ती निर्वाचनमा पनि नागरिकको विश्वास जित्न नसके कांग्रेसको राष्ट्रिय राजनीतिक औचित्यमै प्रश्न उठ्न सक्ने उनको भनाइ छ ।
उनले पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गर्न आग्रह गरेका छन् । संविधानवाद, लोकतन्त्र र पार्टीका आदर्शमाथि ‘पपुलिज्म’ को नाममा आक्रमण भइरहेका बेला कांग्रेसभित्रै विभाजन हुनु दुर्भाग्यपूर्ण रहेको उनको टिप्पणी छ । कोइरालाले १५ औं महाधिवेशनलाई ‘एकता महाधिवेशन’ का रूपमा सम्पन्न गर्नुपर्ने भन्दै १४ औं महाधिवेशनपछि नवीकरण र वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा आगामी महाधिवेशन गर्नुपर्ने उनको बताए।
यसअघि नवीकरण गरिएका सदस्यतालाई पनि कांग्रेसले अद्दावदी गर्ने अभियान चलाएको छ।
