जनतालाई न्याय गर्न अध्यादेश ल्याउनुपरेको हो : रास्वापा नेता पराजुली

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले जनतालाई न्याय गर्ने उद्देश्यले आठ वटा अध्यादेश ल्याएको र यसमा विपक्षी दलहरूले रोइलो गर्नुपर्ने कारण नभएको टिप्पणी गरे ।

वैशाख २९, २०८३

रासस

Ordinance had to be brought to provide justice to the people: Rashtriya Swayamsevak Sangh (RSS) leader Parajuli

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले जनतालाई न्याय गर्ने मनसायले सरकारले अध्यादेश ल्याउनु परेको तर्क गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले जनतालाई न्याय गर्ने उद्देश्यले आठ वटा अध्यादेश ल्याएको र यसमा विपक्षी दलहरूले रोइलो गर्नुपर्ने कारण नभएको टिप्पणी गर्नभयो ।

विगतको ३७ वर्षमा थिलथिलो बनाएको नेपालका सबै संरचना र सेवा प्रवाहबाट दलीयकरण अन्त्य गर्न आवश्यक रहेको बताउँदै नेता पराजुलीले विगतमा दलहरूले आफ्ना कार्यकर्ता र विचौलियामार्फत जनतालाई शोषण दमन गरेको आरोप लगाए । 'हुन त यी विषयमा म आज धेरै चर्चा गर्न चाहन्न तर ती नेपाली जनतालाई न्याय दिनुको सट्टामा तपाईंहरूले केसम्म गर्न भ्याउनुभयो भनेर म यस सम्मानित सदनबाट स्मरण गराउन चाहन्न, आज उहाँहरूलाई न्याय दिनु छ,' नेता पराजुलीले विपक्षी दलहरूप्रति लक्षित गर्दै भने ।

वन ऐन र खरिद ऐनमा भएका कतिपय प्रावधानका कारण विकासलाई अगाडि बढाउन नसकिएको उल्लेख गर्दै उनले त्यसमा संशोधन र सुधार गर्न सरकारले अध्यादेश ल्याउनु परेको स्पष्ट पारे । 'लोकतन्त्रका लागि लडेकाहरूले व्यवस्था परिवर्तनका लागि जेलनेल भोगेकाहरूले संविधानको कुन धारा टेकेर राष्ट्रपतिलाई अध्यादेश रोक्नका लागि यहाँहरूले ज्ञापनपत्र बझाउनुभयो,' उनले भने, 'कुन धरातलमा उभिएर यहाँहरू लोकतन्त्रको वकालत गर्दै हुनुहुन्छ र आज प्रतिपक्षको हैसियतमा यहाँहरूले प्रश्न राख्दै गर्दा जनताले नजिकबाट नियालेका छैनन् होला ।'

नेता पराजुलीले विपक्षी दलहरूलाई अध्यादेशप्रति चित्त नबुझे प्रतिस्थापन विधेयकमा आफ्ना मत राख्न सकिने उल्लेख गरे । नेता पराजुलीले पछिल्लो दिनमा सम्मानित न्यायालयलाई दूषित बनाउनका लागि विभिन्न प्रयास भएकाप्रति दुःख व्यक्त गरे । उनले संसारभर न्यायाधीशहरूको आफ्नै आचारसंहिता हुने र त्यसको पालना गर्नु सम्बन्धित न्यायाधीशको कर्तव्य हुने भए पनि दलको भागबन्डामा न्यायाधीश भएकाहरूले त्यसको पालना नगरेको टिप्पणी गरे । उनले आफ्नो मर्यादा बिर्सेर व्यापारिक कार्यक्रममा सहभागी हुने र दलको भागबन्डामा न्यायाधीश बनेका व्यक्तिले सडकबाट तिहाइको सरकारलाई ललकारेकोप्रति आपत्ति जनाए ।

नेता पराजुलीले वर्तमान सरकारले सिमानामा आवतजावतलाई व्यवस्थित गर्ने प्रयास गरेकोप्रति विरोध जनाउनुको कुनै तर्क नभएको बताउँदै जनताको सहज दैनिकी र आन्तरिक बजार सुदृढीकरणका लागि उक्त प्रयास गरिएको अवगत गराए ।

रासस

Link copied successfully