संख्याको दम्भमा विधि नमिच्न सरकारलाई दाहालको आग्रह

प्रतिनिधिसभामा मंगलबार सम्बोधन गर्दै दाहालले ट्रेड युनियनमाथि हमला नगर्न पनि आग्रह गरेका छन् ।

वैशाख २९, २०८३

कान्तिपुर संवाददाता

Dahal urges government not to compromise on rules in the name of numbers

काठमाडौं — नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद् छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैली नअपनाउन सरकारलाई आग्रह गरेको छन् ।सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको उनको आरोप छ । 

प्रतिनिधिसभामा मंगलबार सम्बोधन गर्दै दाहालले ट्रेड युनियनमाथि हमला नगर्न सरकारलाई आग्रह गरे । ‘आधुनिक लोकतन्त्रको मुख्य आत्मा नै ट्रेड युनियन हुन् । लामो संघर्षबाट प्राप्त अधिकार खोस्ने दिशामा अघि नबढौं । लोकतन्त्रका संस्थाहरूलाई हामीले नष्ट गर्ने होइन, निर्माण गर्ने हो,' उनले भने । 

‘हिजो हामीले बोलेकै भरमा थुनिनुपर्ने परिस्थितिको विरोध गर्‍यौं तर आज हामी मिडियाहरूलाई नियमन गर्ने, कमजोर बनाउने अभ्यास गर्दैछौं । प्रश्नहरूबाट भागेर हैन प्रश्नहरूको जवाफ दिएर मात्रै लोकतन्त्रको विकास हुन्छ,’ उनले भने, ‘संख्याको दम्भमा विधि मिच्ने काम नहोस् । आफैले बोलाएको संसद् स्थगित गरेर जनप्रतिनिधिहरूलाई छलेर, एकपछि अर्को अध्यादेशमार्फत जेजसरी शासन चलाउनु खोज्नु भयो, जसरी प्रतिशोधको गन्ध आउने गरी धरपकडहरू सुरु गर्नुभयो, सरकारको आलोचना गर्नेहरूलाई थुन्ने काम गर्नुभयो, यो लोकतान्त्रिक पद्धती र प्रणालीका लागि कसरी स्वीकार्य हुन सक्छ ?’

कान्तिपुर

Link copied successfully