केन्द्रीय कार्यसमितिमा १९ जना मनोनयन भएको विषयमा आफूसँग कुनै परामर्श नभएको नेता खड्काले बताएका छन् ।
What you should know
काठमाडौं — कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिमा १९ जनाको मनोनयनबारे कुनै परामर्श नभएको बताएका छन् । थापाले सोमबार पूर्वसभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र शशांक कोइराला समूहलाई समेटेर केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए ।
कोइरालाले यसअघि नै मनोनयनमा सहमति नभएको बताइसकेका छन् । कोइरालाले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएलगत्तै खड्काले पनि असन्तुष्टि प्रकट गरेका हुन् ।
‘सबैमा प्रष्ट होस्, हिजो २८ वैशाखमा गरिएको भनिएको केन्द्रीय कार्यसमितिको मनोनयन सम्बन्धमा मसँग कुनै छलफल परामर्श भएको छैन, मेरो जानकारीमा छैन । मेरो प्रष्ट मत छ- २८ गतेको निर्णयले पार्टीको बृहत् र सम्पूर्ण एकता गर्नुपर्ने उद्देश्यमा ठेस पुग्न गएको छ ।’ खड्काले कांग्रेस स्थापनाकालदेखि अहिलेसम्मको इतिहासमा सबैभन्दा अप्ठयारो र प्रतिकूल अवस्थामा उभिएको घडीमा पार्टीभित्र बृहत् एकता आवश्यक रहेको बताएका छन् ।
‘पपुलिज्मको नाममा संविधानवाद र लोकतन्त्रका आधारस्तम्भ र हाम्रा मूल्य मान्यताहरूमा एकपछि अर्को आक्रमण निरन्तर भइरहेको अवस्था छ,’ खड्काले भनेका छन्, ‘यस्तो अवस्थामा पार्टीको बृहत् र सम्पूर्ण एकता नभई हामी राष्ट्रिय राजनीतिमा प्रभावकारी, हस्तक्षेपकारी र सार्थक भूमिका खेल्न सक्दैनौं । त्यसैले पार्टीको बृहत् र सम्पूर्ण एकता गर्ने जिम्मेवारी मूलतः गगनजी र दोस्रोमा विश्वजीको हातमा छ, त्यसमा हामी अरूको सहयोगी भूमिका हुन्छ ।’
उनले सभापति गगन र उपसभापति शर्मासँगको भेटमा पार्टी एकतालाई सर्वाधिक प्राथमिकतामा राखेर लाग्न आग्रह गरेको पनि बताएका छन् । ‘विभाजित कांग्रेसले विगतमा धेरै ठूलो हन्डर मात्र खानु परेन, हामीले आम नागरिकको भरोसा र विश्वास पनि गुमाउन पुग्यौं । त्यसैले त्यतिबेला जिम्मेवारीमा रहेका शीर्ष नेता र भूमिकामा रहेका दुवैतर्फका सबैले आत्मसमीक्षा गर्दै पार्टीलाई बृहत् र सम्पूर्ण रूपमा संगठनात्मक र भावनात्मक एकता गराएर अगाडि बढेको इतिहासको अनुभव हामीसँग छ,’ खड्काले भनेका छन्, ‘२१ फागुनमा सम्पन्न आमनिर्वाचनमा प्राप्त परिणामले झस्काएको मात्रै होइन, ठूलो क्षति समेत बेहोर्नुपर्यो । यसबाट सबक सिक्दै हामीले नयाँ सोच, दृष्टिकोण र साझा भावधारासहित सम्पूर्ण एकताबाट अगाडि बढ्न प्रेरणा लिनुपर्ने घडीमा उभिएका छौं ।’
