कांग्रेस सभापति थापाले गरे  १९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन 

देउवा–शेखर दुवै पक्षका नेतालाई समेट्ने प्रयास

वैशाख २८, २०८३

कुलचन्द्र न्यौपाने

Nepali Congress President Thapa nominates 19 people as central members

काठमाडौँ — कांग्रेसभित्र पूर्व सभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी अघि बढाइरहेका बेला सभापति गगनकुमार थापाले १९ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनयन गरेका छन् । मनोनयनमा देउवा, शेखर कोइराला र शशांक कोइराला पक्षका नेताहरू समेटिएका छन् ।

पार्टीभित्रको विवाद समाधान गर्दै सबै पक्षलाई एकतामा ल्याउने सन्देश दिन खोजिए पनि देउवा पक्षको नेतृत्व गरिरहेका पूर्णबहादुर खड्का र नेता शेखर कोइराला स्वयं भने अझै मनोनयनमा परेका छैनन् । यसले कांग्रेसभित्रको शक्ति सन्तुलन र भागबण्डाको राजनीति अझै टुंगिन नसकेको प्रस्ट पारेको छ । 

सभापति थापाले कांग्रेस विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा १० बमोजिम महाधिवेशन प्रतिनिधिहरूमध्येबाट १९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । मनोनयनमा देउवा पक्षका ११ जना, शेखर पक्षका ७ जना र शशांक कोइराला पक्षका १ जना परेका छन् ।

देउवा पक्षबाट महेन्द्र यादव, उमेश श्रेष्ठ, रमेश रिजाल, अजयकुमार चौरासिया, लक्ष्मी परियार, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, राजीव ढुंगाना, सुशिला मिश्र भट्ट, नागिना यादव र जीवन राना मनोनयनमा परेका छन् । उनीहरूमध्ये महेन्द्र यादव यसअघिका सहमहामन्त्री तथा उमेश श्रेष्ठ कोषाध्यक्ष थिए ।

शेखर पक्षबाट जीवन परियार, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, चन्द्रकान्त भण्डारी, राजीव कोइराला,  गोविन्दराज पोखरेल र दिनेश कोइराला मनोनयनमा परेका छन् । शेखर पक्षका जीवन परियार यसअघिका सहमहामन्त्री हुन् । 

शशांक कोइराला पक्षबाट भने सीता थपलिया ‘उर्मिला’ मात्र मनोनयनमा परेकी छन् ।

सर्वोच्च अदालतले गगन थापा नेतृत्वकै केन्द्रीय कार्यसमितिलाई कानुनी मान्यता दिने फैसला गरेपछि पार्टीभित्र समानान्तर गतिविधि रोक्दै एकतामा जानुपर्ने दबाब बढेको थियो । अदालतको फैसलापछि शेखर कोइराला सार्वजनिक रूपमा पार्टी एकताकै पक्षमा उभिएका छन् । उनी समानान्तर गतिविधिमा सहभागी छैनन् । 

कोइरालाले देउवा पक्षको नेतृत्व गरिरहेका पूर्णबहादुर खड्कासहितका नेताहरूलाई पनि समेटेर एकता गर्नुपर्नेमा जोड दिँदै आएका छ्न् । कोइरालालाई समेत सभापति थापाले यसैपटक मनोनयन गर्न चाहेका थिए । एक पदाधिकारीका अनुसार उनले सबैलाई एकतामा जोड्नका लागि केही समय बाहिरै बस्ने इच्छा राखेपछि यसपटक मनोनयन नगरिएको हो । 

शेखर पक्षका तत्कालीन उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डेलगायतका नेताहरू पनि मनोनयनमा परेका छैनन् । 

उता देउवा पक्षका नेताहरूले नेपाली कांग्रेस र तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) बीच असोज २०६४ मा भएको एकताको मोडलअनुसार अहिले पनि व्यवस्थापन हुनुपर्ने माग उठाइरहेका छन् । तत्कालीन समयमा एकीकरण गर्दा गिरिजाप्रसाद कोइराला सभापति र शेरबहादुर देउवा वरिष्ठ नेतामा बसेका थिए । दुवै पक्षका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई उनीहरू रहेको पदमै समायोजन गरिएको थियो ।

भातृ संस्था र विभिन्न संयन्त्रमा समेत ६०–४० को भागबण्डा गरिएको थियो । पछि त्यही आधार कांग्रेसभित्र संस्थागत भागबण्डाको अभ्यास बन्न पुगेको थियो । अहिले पनि देउवा पक्षका नेताहरू सोही मोडलअनुसार प्याकेजमै एकता हुनुपर्ने अडान राख्दै आएका छन । 

देउवा पक्षका नेताहरूका अनुसार केवल केही व्यक्तिको मनोनयन गरेर समस्या समाधान नहुने भएकाले पार्टी संरचना, विभाग, भ्रातृ संस्था र महाधिवेशन व्यवस्थापनसम्मको विषय एकैपटक टुंग्याउनुपर्ने माग अघि सारिरहेका छन । संस्थागत रूपमा भागबण्डा हुनेगरी एकताको पक्ष्ँमा संस्थापनपक्ष नरहेकाले इतरपक्षीय नेताहरू आगामी १५ औं महाधिवेशनका लागि समानान्तर तयारी सुरु गरेका छन । उनीहरूले मंगलबार कोशी, बुधबार बागमतीमा भेला गर्दैछन । त्यसपछि अरू प्रदेशमा समेत भेला गरेर महाधिवेशन आयोजक समिति गठन गर्ने बताउदै आएका छन् । 

त्यसैले देउवा पक्ष्ँको नेतृत्व लिइरहेका खड्का, पूर्व पदाधिकारीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशशरण महतलगायतका नेताहरू समग्र सहमतिमा जोड दिँदै आएका छन् । नभए समानान्तर महाधिवेशन गर्ने उनीहरूको जोड छ । 

सभापति थापाले  बृहत् पार्टी एकताका लागि चरणबद्ध रूपमा मनोनयन र समायोजन प्रक्रिया अघि बढाउने बताउँदै आएका छन् । महामन्त्री प्रदीप पौडेलले छुटेका नेताहरू दोस्रो चरणमा मनोनयन हुने बताए । कांग्रेसको पुरानो विधानले सभापतिलाई ३३ जना मनोनयन गर्न सक्ने अधिकार दिएको छ । त्यसलाई विशेष महाधिवेशन संशोधन गरेर ६१ संख्या पुर्‍याएको छ । पार्टी एकताका मनोनयन गर्न बाँकी कोटामा देउवा र कोइराला पक्षका अधिकत्तम नेताहरूलाई समेट्ने पौडेलले बताए ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully