प्रतिनिधिसभा सचिव राईलाई हटाउन सभामुख अर्यालले दोस्रोपटक सोधे स्पष्टीकरण

सचिव राईले भने- 'सभामुखले सोधेका प्रश्नको मैले सैद्धान्तिक जवाफ दिएको छु ।'

वैशाख २३, २०८३

जयसिंह महरा

Speaker Aryal asks for clarification for the second time on the removal of House of Representatives Secretary Rai

What you should know

काठमाडौँ — सभामुख डीपी अर्यालले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाउनका लागि दोस्रोपटक स्पष्टीकरण सोधेका छन् । पहिलोपटक सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै सभामुख अर्यालले सचिव राईलाई दोस्रोपटक स्पष्टीकरण सोधेका हुन् ।

सभामुख अर्यालका प्रमुख स्वकीय सचिव मुना कुँवरले मंगलबार दोस्रोपटक स्पष्टीकरण सोधिकएको बताइन् । आफ्नो काम गर्ने तौरतरिकासँग मिल्ने मान्छे ल्याउनका लागि सभामुखले सचिव राईलाई हटाउन खोजेका हुन् । स्वकीय सचिव कुँवरले भनिन्, 'आफ्नो स्पीडमा हिँड्ने मान्छे खोज्नुभएको हो । त्यो नमिलेको (सचिव राईसँग) हो कि जस्तो लागेर स्पष्टीकरण सोधेको जस्तो लागेको छ ।' 

सचिव राईले प्रतिनिधिसभामा सांसदहरूलाई बोल्नका लागि छुट्याइएको समय पक्षपातपूर्ण भएको भन्दै सभामुख अर्यालले स्पष्टीकरण सोधेका थिए । सचिवालयमा सचिवका रूपमा गर्नुपर्ने कामका लागि आफूसँग समन्वय नगरेको भन्दै अर्यालले राईलाई स्पष्टीकरण सोधेका थिए । सचिव राईले पहिलोपटक सोधिएको स्पष्टीकरणको जवाफ ‍बुझाइसकेको बताए । 'सभामुखले सोधेका प्रश्नको मैले सैद्धान्तिक जवाफ दिएको छु,' सचिव राईले भने ।

सचिव राईले सभामुखबाट दोस्रोपटक स्पष्टीकरण सोधिएको पत्र भने आफूकहाँ आइनपुगेको बताए । उनले राईले तत्काल राजीनामा भने नगर्ने भएका छन् । सभामुखले सोधेको स्पष्टीकरणको जवाफ दिइसकेकाले राजीनामा नगर्ने जानकारी सभामुखलाई दिइसकेका छन् । अब सभामुखसँग सचिव राईका सम्बन्धमा दुई विकल्प रहेको संसद् सचिवालयका एक वरिष्ठ अधिकारीले बताए ।

'पहिलो, सचिव राईले दिएको जवाफमा चित्त बुझाएर काम गर्न दिने । दोस्रो, स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै सचिव राईलाई पदमुक्त गर्न राष्ट्रपतिकहाँ सिफारिस गर्ने,' ती अधिकारीले भने ।

प्रतिनिधिसभाको सचिव पद संवैधानिक हो । सभामुखको सिफारिसमा प्रतिनिधिसभाको सचिव राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सचिव राईलाई तत्कालीन सभामुख देवराज घिमिरेले सचिव पदमा नियुक्तिका लागि राष्ट्रपतिकहाँ सिफारिस गरेका थिए । त्यसअघि उनी तत्कालीन भौतिक पूर्वाधार तथा यतायातमन्त्री देवेन्द्र दाहालको सचिवालयमा कार्यरत थिए । 

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully