संविधान, कानुनविपरीतका अध्यादेश सच्याउने गरी प्रस्तुत हुन सांसदलाई कांग्रेस सभापति थापाको निर्देशन

सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन विधेयकको रुपमा संसद्‌मा आउने भएकाले त्यसमा रहेका संविधान, कानुनविपरीतका प्रावधान सच्याउने गरी सांसदहरुलाई प्रस्तुत हुन आफूले बैठकमा भनेको सभापति थापाको भनाइ थियो ।

वैशाख २३, २०८३

कान्तिपुर संवाददाता

Nepali Congress President Thapa directs lawmakers to present ordinances that violate the constitution and laws in a manner that corrects them.

काठमाडौँ — कांग्रेसका सभापति गगनकुमार थापाले संविधान र कानुनविपरीत सरकारले ल्याएको अध्यादेश सच्याउने गरी संसद्‍मा प्रस्तुत हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । 

बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले उक्त निर्देशन दिएका हुन् । सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन विधेयकको रुपमा संसद्‌मा आउने भएकाले त्यसमा रहेका संविधान, कानुनविपरीतका प्रावधान सच्याउने गरी सांसदहरुलाई प्रस्तुत हुन आफूले बैठकमा भनेको सभापति थापाको भनाइ थियो । 

उनले सरकार संविधानको सीमा बाहिर जान लागेको आफूले पाएको उल्लेख गर्दै आपत्तिसमेत जनाए । सभापति थापाले कांग्रेसले सरकारलाई गलत बाटोमा जान नदिने गरी आफ्नो भूमिका निर्वाह गर्ने पनि बताए । 

‘सरकारले संविधानको सीमाभित्र बसेर गर्ने सकारात्मक कामहरुमा नेपाली कांग्रेसले कुनै अवरोध पुर्‍याउँदैन । हामीले पार्टी संसदीय दललाई पनि यो निर्णय जानकारी गराएका छौँ । संविधानको परिधिभित्र रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि हाम्रो काम हो । जहाँ प्रश्न गर्नुपर्ने हुन्छ, त्यहाँ कांग्रेसले प्रश्न गर्छ, जहाँ खबरदारी गर्नुपर्ने हो, त्यहाँ त्यो गर्छ । जहाँ विकल्प सुझाउनुपर्ने हुन्छ, त्यहाँ हामी त्यो काम पनि गर्छौं,' उनले भने । 

'अध्यादेश ल्याउने संवैधानिक व्यवस्था छ । हिजो हामीले पनि ल्याएको थियौं । भोलि पनि ल्याउनुपर्ने परिस्थिति बन्छ । तर विषय केसँग जोडिएर आउँछ भने केका लागि ल्याइएको हो ? कुन नियतले ल्याइएको भन्ने कुराचाँहि जहिल्यै हेर्नुपर्ने हुन्छ,' उनले भने, 'अहिले दर्जनौं अध्यादेशहरु ल्याइएका छन् । राष्ट्रपतिले अध्यादेश बनाइसक्नु भएको छ । प्रत्येक अध्यादेश जुन अब संसद्‌मा आउँछ । भोलि यो प्रतिस्थापन विधेयकको रुपमा आउँदा यसभित्र कुन विषय संविधानसम्मत छ, कुन विषय संविधानसम्मत छैन ? कसले नागरिक हक अधिकार खोसेको छ, कुन ठीक छ, कुन ठीक छैन ? भनेर यसलाई जाँच्ने त्यसको आलोकमा प्रश्न उठाउने र आवश्यकताअनुसार सच्याउनका लागि दबाब दिने यो तपाईंहरुको काम हो । यो भूमिका निर्वाह गर्नुहोस् भनेर भनेका छौं ।’

सभापति थापाले सरकारले बहुमत छ भन्दैमा एक्ले कानुन बनाउने भन्ने भ्रम पाल्न नहुने पनि बताए ।

कान्तिपुर

Link copied successfully