जेन-जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले सिफारिस गरेको अध्यादेश पनि राष्ट्रपतिले न स्वीकृत गरे न अस्वीकृत- ‘होल्ड’ मा राखेका थिए ।
What you should know
काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार फिर्ता पठाएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी अध्यादेश सरकारले कुनै परिवर्तन नगरी पुनः राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यथास्थितिमै अध्यादेश पुनः पठाउने निर्णय गरेको हो ।
नेपालको संविधानको धारा ११३ (३) अनुसार अर्थ विधेयकबाहेक अन्य विधेयकमा राष्ट्रपतिलाई पुनर्विचार आवश्यक लागेमा एकपटकका लागि सन्देशसहित सम्बन्धित सदनमा फिर्ता पठाउन सक्ने व्यवस्था छ । तर, फिर्ता भएको विधेयक संसद्ले अनिवार्य रूपमा संशोधन गर्नैपर्छ भन्ने बाध्यता भने छैन ।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीका अनुसार संसद्ले राष्ट्रपतिको चासो सम्बोधन गरेर वा यथास्थितिमै पुनः पठाएपछि राष्ट्रपतिले धारा ११३ (४) अनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने हुन्छ । विधेयकमा जस्तै अध्यादेशको हकमा पनि राष्ट्रपतिलाई यही अधिकार लागु हुने उनको भनाइ छ ।
उनका अनुसार, राष्ट्रपतिले एकपटक संविधान र कानुनसँग मेल नखाएमा सच्याउन सन्देशसहित फिर्ता पठाउन सक्छन् । तर, सरकारले पुनः सिफारिस गरेपछि भने राष्ट्रपतिलाई स्वीकृति दिनु बाध्यात्मक हुन्छ । संवैधानिक राष्ट्रपतिले त्यसपछि अध्यादेश रोक्ने वा फेरि फिर्ता गर्ने अधिकार राख्दैनन् ।
किन फिर्ता भयो अध्यादेश ?
संवैधानिक परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने निकाय हो, जसमा सभामुख, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख गरी कुल ६ सदस्य रहने व्यवस्था छ ।
यही संरचनामा ‘बहुमत’ कसरी निर्धारण गर्ने भन्ने विषयमा राष्ट्रपतिले प्रश्न उठाएका हुन् । राष्ट्रपतिको चासो अनुसार ६ सदस्यीय परिषद्मा निर्णय गर्दा कुल सदस्यको बहुमत (कम्तीमा ४) हुनुपर्छ । तर, सरकारले प्रस्ताव गरेको अध्यादेशमा भने फरक व्यवस्था गरिएको छ । त्यसअनुसार ४ जना सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने र निर्णय उपस्थित सदस्यको बहुमतबाट गर्न सकिने भनिएको छ । यसको अर्थ, ४ जना उपस्थित भए ३ जनाले नै निर्णय गर्न सक्ने अवस्था हुन्छ ।
राष्ट्रपतिले यही व्यवस्थाले ‘कुल सदस्यको बहुमत’ को मर्म कमजोर हुने भन्दै पुनर्विचारका लागि अध्यादेश फिर्ता पठाएका हुन् ।
हालको कानुनमा के व्यवस्था छ ?
हाल कायम ऐनअनुसार अध्यक्षसहित कम्तीमा ५ जना सदस्य उपस्थित भएमा मात्र बैठक बस्न सक्छ । पहिलो बैठकमा सर्वसम्मत निर्णय गर्नुपर्ने बाध्यता छ । यदि सहमति हुन सकेन भने दोस्रो बैठकमा मात्र बहुमतबाट निर्णय गर्न सकिन्छ । त्यो पनि कुल ६ सदस्यकै बहुमत (कम्तीमा ४ जना) बाट निर्णय गर्नुपर्ने व्यवस्था छ ।
यसर्थ, हालको कानुनले ‘कुल सदस्यको बहुमत’लाई नै अन्तिम आधार मानेको छ, जबकि प्रस्तावित अध्यादेशले ‘उपस्थित सदस्यको बहुमत’ लाई प्राथमिकता दिएको छ ।
विगतमा पनि उठेको थियो यही विवाद
यसअघि पनि यही विषयमा राष्ट्रपतिले विधेयक फिर्ता पठाएका थिए । संघीय संसद्का दुवै सदनबाट पारित भएर ३१ असार २०८२ मा प्रमाणीकरणका लागि पुगेको विधेयक राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता गरेका थिए ।
त्यतिबेला प्रस्तावित व्यवस्था झन् विवादास्पद थियो । अध्यक्ष र ५ सदस्य उपस्थित भएमा ४ जना, अध्यक्ष र ४ सदस्य उपस्थित भएमा ३ जना, अध्यक्ष र ३ सदस्य उपस्थित भएमा ३ र अध्यक्ष र २ सदस्य उपस्थित भएमा २ जनाबाटै निर्णय गर्न सकिने व्यवस्था राखिएको थियो । राष्ट्रपतिले त्यस्तो प्रावधानले बहुमतको मर्म नै कमजोर हुने भन्दै ५ बुँदे सन्देशसहित विधेयक फिर्ता पठाएका थिए ।
अध्यादेश ‘होल्ड’ मा राखिएको अर्को उदाहरण
अर्को प्रसंगमा, जेन-जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले न स्वीकृत गरे न अस्वीकृत- ‘होल्ड’ मा राखेका थिए । राष्ट्रपति कार्यालय स्रोतका अनुसार उक्त अध्यादेशमा पनि अघिल्लो संसद्बाटै पारित विधेयकको व्यवस्था दोहोर्याइएको थियो ।
वरिष्ठ अधिवक्ता ज्ञवाली अध्यादेशको जस, अपजस र जवाफदेहिताको भागीदार कार्यकारी नै हुने भएकाले राष्ट्रपति अब त्यसमा प्रवेश गर्न नहुने बताउँछन । ‘एकपटक फिर्ता पठाउन सक्ने संवैधानिक कर्तव्य राष्ट्रपतिले पूरा गर्नुभएको छ, अब फेरि फिर्ता पठाउने वा होल्डमा राख्ने अधिकार राष्ट्रपतिमा छैन,’ ज्ञवालीले भने,‘त्यस्तो अध्यादेश संसद्मा परीक्षण हुने भएकाले राष्ट्रपतिले थप सोचि राख्न पर्दैन ।’
