रौतहट-३ बाट गत निर्वाचनमा पराजित नेकपाकी उम्मेदवार यादवद्वारा पार्टी त्याग

निर्वाचनका बेला पार्टीभित्र कै नेताहरूले विश्वासघात गरेको उनको आरोप छ । रौतहट-३ मा रास्वपाका रवीन्द्र पटेल निर्वाचित भएका थिए । यादव पाँचौँ स्थानमा थिइन् ।

वैशाख २०, २०८३

कान्तिपुर संवाददाता

Yadav, the defeated NCP candidate from Rautahat-3 in the last election, leaves the party.

What you should know

काठमाडौं — गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेवार बनेकी रौतहट-३ की उम्मेदवार पुनम यादवले पार्टी त्याग गरेकी छन् । निर्वाचनमा पार्टीभित्रकै नेताहरूले विश्वासघात गरेको भन्दै उनले पार्टी त्याग गरेकाे बताएकी छन् । यो निर्वाचन क्षेत्रमा रास्वपाका रवीन्द्र पटेल निर्वाचित भएका थिए । यादव पाँचौँ स्थानमा थिइन् ।

‘मलाई पार्टीकै मान्छेहरूले पनि मत दिएनन् । पार्टीबाट अन्तर्घात भयो,’ उनले भनिन्, ‘त्यसैले मैले पार्टी त्याग गरेको हो । केही दिन स्वतन्त्र भएर काम गर्नै हो । जनताको सेवा गर्न पार्टी चाहिँदैन ।’

उनले १० वर्षदेखि माओवादी हुँदै नेकपामा कार्यरत भए पनि उचित पद नदिएको बताएकी छन् । ‘म १० वर्षदेखि माओवादी हुँदै नेकपामा काम गरेको थिएँ तर कुनै पदमा थिइन’ उनले भनिन्, ‘म स्वतन्त्र रुपमा बसेर जनतालाई सेवा गर्ने हो । पार्टीमा लाग्दा अनेक ट्याग लाग्यो ।’

उनले १० वर्षसम्म काम गरेको पार्टी छोड्दा दुःख लागे पनि अब नयाँ तरिकालेले सेवा गर्ने बताइन् । ‘अब पार्टीसँग मेरो कुनै सम्बन्ध छैन,’ उनले भनिन्, ‘समाज सेवाबाट पनि राजनीति गर्न सकिन्छ,’ उनले भनिन् ।

उनले २१ फागुनको प्रतिनिधिधसभा सदस्य निर्वाचनमा ३ हजार ८८१ मत ल्याएकी थिइन् । 

पार्टीको नाम देखाएर स्वार्थ पूरा गर्ने प्रवृत्ति नेताहरूमा बढेकको उनको आरोप छ । ‘पार्टीको नाममा लुटेर खाने प्रवृत्ति छ । पार्टीको नाम देखाउने तर निर्वाचनमा अरुलाई नै मत हाल्ने प्रवृत्ति देखियो,’ उनले भनिन् ।

जेन-जी आन्दोलनपछि पार्टी संगठनमा युवालाई स्थान दिनुपर्नेमा नेकपामा पुरानै प्रवृत्ति देखिएको उनले बताइन् । ‘जेन-जी आन्दोलनको माग नै युवा छ । पार्टी नेतृत्वमा बुढापाकाहरू ल्याएर कसरी काम हुन्छ ? हरेक संगठनमा युवा हुनुपर्छ,’ उनले भनिन् ।

उनले आफूले सोचविचार गरी पार्टी छाडेको उल्लेख गर्दै अरु दलमा जानेबारे नसोचेको बताइन् । उनका बुबा सुरेन्द्र यादव गत स्थानीय निर्वाचनमा फतुवा विजयुर नगरपालिका मेयरमा माओवादीको उम्मेदवार भएर पराजित भएका थिए ।

कान्तिपुर

Link copied successfully